काठमाडौं- भारतबाट आइतबार राति कपिलवस्तु जिल्लाको सिमाना हुँदै सलहको ठूलो झुण्ड नेपाल प्रवेश गरेको छ। सलह सूचना केन्द्र फोकल पर्सन रामकृष्ण सुवेदीका अनुसार कपिलवस्तु जिल्लाबाट नेपाल छिरेको सलहको उक्त फौज अहिले कुन ठाउँमा गएर बसेको छ भन्ने एकिन भइसकेको छैन।
‘अहिले त्यो फौज कुनै जंगलतिर गएर बसेको अनुमान छ। हामी त्यसको फैलावटको अवस्थाबारे अझै सोधखोज गरिरहेका छौं। तर कुन ठाउँमा गएर बस्यो भनेर पत्ता लगाउन सकिएको छैन’, सुवेदीले भने। आइतबार नेपाल छिरेको सलहको फौज हालसम्म नेपाल प्रवेश गरेका सलहका अरु झुण्डहरुको तुलनामा सबैभन्दा ठूलो रहेको आंकलन गरिएको छ। ठूलो समूह कृषिबालीमा प्रवेश गर्दा त्यसले गर्ने क्षति पनि बढी हुने भएका कारण यो फौजलाई तितरबितर पार्न सकिने उपायबारे तयारी थालिएको पनि उनको भनाई छ।
त्यस्तै आइतबार सिन्धुली जिल्लामा फैलिएको सलहको फौज सोमबार काभ्रे जिल्लामा आइपुगेको जानकारी आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।