काठमाडौं- बुटवल उपमहानगरपालिका- ४ लक्ष्मीनगरका २ बालबालिकाले साढे ८ किलो सलह किरा संकलन गरेर वडा कार्यालयलाई बुझाएका छन्।
लक्ष्मीनगरका अच्युत न्यौपानेले ५ किलो र सविना थारुले साढे ३ किलो सलह संकलन गरेका हुन्। शनिबार सलह किरा नेपाल प्रवेश भएसँगै प्रदेश- ५ सरकारले सलह छोपेर ल्याउने व्यक्तिलाई प्रतिकेजी २० रुपैयाँ प्रोत्साहनस्वरुप दिने निर्णय गरेको थियो। प्रदेश सरकारको उक्त निर्णयपछि आइतबार ती दुई बालबालिकाले सलह किरा संकलन गरेर वडा कार्यालयमा बुझाएका हुन्।
वडा कार्यालयले पनि न्यौपानेलाई १ सय रुपैयाँ र थारुलाई ७० रुपैयाँ प्रोत्साहनस्वरुप दिएको छ। संकलन भएको सलह भने वडा कार्यालयले कुखुरा पालक किसानलाई दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।