काठमाडौं– नेपालमा प्रवेश गरेको सलह किरासँग नआत्तिन मेलम्ची नगरपालिकाले किसानहरुलाई सुझाएको छ। यो फट्याङ्ग्रा प्रजातिको किराले नेपालमा सन्तान उत्पादन गर्न नसक्ने भन्दै नगरपालिकाले किसानहरुलाई नआत्तिन आग्रह गरेको हो।
आइतबार नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो किराले बालुवामा १५ देखि २० सेमिभित्र पर्नेगरी अण्डा पार्दछ। नेपालमा मरुभूमि नभएका कारण यसले नेपालमा सन्तान उत्पादन गर्न सक्दैन त्यसैले नआत्तिऔं सचेत रहौं।’
सलह किरा देखा परे के गर्ने?
सलह एक उच्च पोसिलो किरा भएकाले कुखुराको दाना बनाउन प्रयोग गर्न सकिन्छ। सलह आएको देखेपछि ठूलो स्वरमा स्पिकरहरु बजाउने, थाललगायत सामग्री बजाएर आवाज निकाल्ने, धुवा लगाएर पनि किरालाई अन्त मोड्न सकिन्छ। त्यस्तै धान तथा तरकारी बालीको ब्याड (बिउ राखिएको ठाउँलाई) झुल तथा जालिले छोप्न सकिन्छ।
विषादी प्रयोग गर्नुपर्ने अवस्था आएमा सलह किरा बास बसेको ठाउँ पत्ता लगाएर बिहान घाम नलाग्दै प्रयोग गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।