काठमाडौं–कृषि तथा पशुपन्छी मन्त्रालयले शनिबार नेपाल प्रवेश गरेको सलहको झुण्डले संख्या वृद्धि नगर्ने आंकलन गरेको छ।
शनिबार प्रदेश २ को बारा र प्रदेश ५ को भैरहवाबाट सलह किरा नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको छ। शनिबार प्रवेश गरेको सानो झुण्ड भएको जनाउँदै मन्त्रालयले ठूलो संख्यामा प्रवेशको सम्भवना रहेको जनाएको छ।
भारतमा हावाको गतिमा आएको परिवर्तनले नेपालमा सलह प्रवेश गरेको कृषि मन्त्रालयले जनाएको छ। भारतमा हावाको गतिमा परिवर्तन २/४ दिनपछि पुनः बढ्ने प्रक्षेपण गरिएकाले नेपालमा ठूलो संख्यामा प्रवेश गर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा शनिबार प्रवेश गरेको सलहको झुण्डले ठूलो क्षति पार्न नसक्ने समेत मन्त्रालयको आंकलन छ। आइतबार पत्रकार सम्मेलन मार्फत मन्त्रालयले जानकारी गराएअनुसार शनिबार प्रवेश गरेका सलहले नयाँ उत्पादन नगर्ने जनाइएको छ। कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर डा हरिबहादुर केसीले भने, ‘सलहले वंश वृद्धि गर्नलाई मरुभूमिको आवश्यकता पर्दछ। वंशवृद्धिका लागि नेपाल अनुकुल क्षेत्र होइन।’ सलहले बच्चा उत्पादन गर्न सरदर दुई साता लाग्ने बताइएको छ। सानो समूहमा आएको सलह वर्षाकै कारण पनि नष्ट हुन सक्ने मन्त्रालयले जनाएको छ।
शनिबार आएको सलहको समूह फरक फरक क्षेत्रबाट आएसँगै नेपालको पूर्वी भागमा नलागेर पश्चिमतिर लागेको बताइएको छ। भैरहवाबाट आएको सलह बुटवल, पाल्पा स्याङ्जा हुँदै कास्कीसम्म पुगेको बताइएको छ। प्रदेश २ बाट आएको सलह चितवन, सिन्धुलीसम्म आइपुगेको मन्त्रालयले जनाएको छ।
रातिमा निष्क्रिय हुने सलह बिहानको घाम १/२ घन्टा तापेसँगै सक्रिय हुने बताइएको छ। हावाको गतिमा प्रतिघन्टा १५० किलोमिटर टाढासम्म हुलसहित उड्ने कृषि विज्ञहरुको भनाइ छ। सलहले मूख्यतः हरियो बोट बिरुवामा केन्द्रित हुन बताइएको छ। एउटा किराले दिनमा आफ्नो तौल बराबरको वनस्पति नष्ट गर्ने जनाइएको छ। एउटा सानो झुण्डले एक दिनमा बढीमा २५ सय मानिसको आहारा बराबरको नष्ट गर्ने जनाइएको छ।
प्रारम्भिक चरणमा मन्त्रालयले ध्वनी तथा धुँवाबाट नै सलह हटाउने विधि अवलम्बन गर्न मातहतका निकायलाई सुझाएको छ। ठूलो संख्यामा सलह प्रवेश गरेमा विषादीको साथै दमकलको प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
धान रोप्ने समय भएकाले बिउ जोगाउनका लागि जाली वा त्रिपाल प्रयोग गर्न कृषकहरुलाई सुझाइएको छ।
मन्त्रालयले सलहको प्रवेशले पुर्याएको क्षति तथा व्यवस्थापनका बारेमा दैनिक जानकारी उपलब्ध गराउने जनाएको छ। सलह फोकल बिन्दु तोक्ने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।