काठमाडौं- प्रदेश नं २ का विभिन्न जिल्लामा सलह किरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन सुरु गरेका छन्।
भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले किरा प्रवेशका सन्दर्भमा अध्ययन सुरू गरेको हो।
कृषि वैज्ञानिकहरू सर्लाही जिल्लाको तेलबाली अनुसन्धान केन्द्रमा बसी अध्ययन गरिरहेको जनाइएको छ। राज्यमन्त्री यादवले शनिबार बिहान प्रदेशका विभिन्न जिल्लामा बथानमा देखिएको किरा सलह नै भएको पुष्टि भएकाले यसबारे गहन अध्ययन र निरूपणबारे कृषि वैज्ञानिकहरूले कार्य प्रारम्भ गरेको बताए।
वैज्ञानिकहरूले किराको प्रवेश नाका, सङ्ख्या र नियन्त्रणका आधार पहिल्याउनेबारे अनुसन्धानसमेत सुरु गरेको बताइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।