रुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये फरार ५ जनाविरुद्ध पक्राउपुर्जी जारी भएको छ।
घटनापछि दर्ता भएको अभियोग पत्र र थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले फरार ५ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन्।
रुकुमकाेट जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्दै नियमानुसार गर्न आदेश गरेको हो। नवराजसहित ६ जनाको हत्यामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गरिए पनि हालसम्म २९ जना अभियुक्त पक्राउ परेका छन्।
यी मध्ये २३ जना पुर्पक्षका लागि थुनामा पठाइएको छ भने ३ जना साधारण तारेखमा रिहा भएका छन्। एक जना भने १ लाख धरौटीमा रिहा भएका छन्। तर उनले धरौटी रकम बुझाउन नसकेपछि उनी पनि कारागार चलान भएका छन्। २ जना भने नाबालक भएका कारण बाल सुधार गृह पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।