राजविराज– कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एक फरार अभियुक्तलाई सप्तरी प्रहरीले झण्डै ८ वर्षपछि पक्राउ गरेको छ।
हनुमाननगर–कंकालिनी नगरपालिका–११ (तत्कालिन इनर्वा गाविस–६) का ६० वर्षीय रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो।
तत्कालिन पुनरावेदन अदालत, राजविराजले २०६७ माघ १९ मा यादवविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका यादवलाई गाउँमै लुकिछीपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंहले बताए।
पक्राउ परेको मितिले लागु हुनेगरी यादवलाई सप्तरी जिल्ला कारागार पठाइएको उनले जानकारी दिए। यादवको कैद सजाय २०९५ पुष ६ गते समाप्त हुनेछ।
मोहि यादवको जाहेरीका आधारमा दायर भएको मुद्दामा जिल्ला अदालत राजविराजले २०५६ जेष्ठ २५ गते यादवलाई सफाइ दिने निर्णय गरेको थियो। तर, पुनरावेदन अदालतले साढे ११ वर्षपछि जिल्ला अदालतको फैसला नमिलेको भन्दै ज्यान सम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।