काठमाडौं- नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत तत्कालीन बर्दिबास उप–वितरण केन्द्र (हाल गौशाला वितरण केन्द्रअन्तर्गत) मा कार्यरत कर्मचारीहरुबाट प्राधिकरणको एनएस रेभिन्यु सफ्टवयरमा तथ्यांक थपघट ( म्यानुपुलेसन) गरी आर्थिक अपचलन गरेको भेटिएको छ।
प्राधिकरणको सफ्टवेयरमा तथ्यांक तलमाथि गरी नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो पोष्टिङ गरी राजस्व अपचलन गरेको भन्ने उजुरी आएपछि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले अध्ययन समिति गठन गरेको थियो। प्राधिकरणबाट गठित समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गरिएको अनुसन्धान छानविन समितिले पेस गरेको प्रतिवेदनअनुसार प्राधिकरणको सफ्टवेयरबाट २० लाख ३३ हजार २ सय ७२ रूपैयाँ ६१ पैसा बराबर राजस्व अपचलन गरेको भेटिएपछि अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारले दायर गरेको मुद्दाअनुसार बर्दिवास शाखाका तत्कालीन इन्चार्ज संजीव शर्माले कर्मचारीहरूको पासवर्ड आफैंले राखी रातको समयमा गोप्य तरिकाले काम गर्ने, मातहतको कर्मचारीको गम्भीर गल्तीलाई सामान्य सोधपुछको भरमा छाडिदिने, संप्रेषण गर्नुपर्ने सूचना माथिल्लो निकायमा नपुर्याउने, अधिकारै नभएको अधिकार प्रयोग गर्ने गरेको र मौखिक आदेशमा काम गर्ने गराउने गरेको भेटिएको छ।
प्राधिकरणको सफ्टवेयरबाट डाटा तलमाथि गरी सफ्टवेयरभित्र चलखेल गरी धेरै ग्राहकहरुको खातामा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो र बहु पोष्टिङ गरेको भेटिएको हो। शर्माविरुद्ध २० लाख ३३ हजार २ सय ७२ रूपैयाँ बराबर अपचलन गरेको मुद्दा दायर गरिएको छ।
बर्दिबास उप–केन्द्रका तत्कालीन ज्यालादारी कर्मचारी अरविन्द प्रसाद जयसवालविरुद्ध सोही मुद्दामा ४ लाख ७५ हजार ४ सय ६६ रुपैयाँ ७३ पैसा अपचलन गरेको आरोप छ। त्यस्तै तत्कालीन ज्यालादारी कर्मचारी बागेश्वरी कुमारी कर्णविरुद्ध ५३ हजार ८ सय २१ , बर्दिबास उप(केन्द्रका लेजर पोष्टिङ्ग गर्ने तत्कालीन ज्यालादारी कर्मचारी चन्द्रभुषण महतोविरुद्ध ४ लाख ६ हजार १ सय ३९ रुपैयाँ र बर्दिबास उप–केन्द्रका लेजर पोष्टिङ्ग गर्ने तत्कालीन ज्यालादारी कर्मचारी धर्मेन्द्र कुमार महतोविरुद्ध ६६ हजार ८ सय ३७ रुपैयाँ बराबर अपचलन गरेको भेटिएको छ।
त्यसैगरी, बर्दिबास उप–केन्द्रका लेजर पोष्टिङ्ग गर्ने तत्कालीन ज्यालादारी कर्मचारी अजितमान सिंहविरुद्ध २२ हजार ८ सय १३ रुपैयाँ, बर्दिबास उप-केन्द्रकी तत्कालीन ज्यालादारी कर्मचारी स्मिता कट्टेलविरुद्ध ७ लाख ७४ हजार १ सय ४ रुपैया र बर्दिबास उप–केन्द्रका तत्कालीन ज्यालादारी कर्मचारी अन्जु कुमारी बस्नेतविरुद्ध १२ हजार १४ रुपैयाँ बराबर राजश्व अपचलन गरेकोमा सोही बराबर बिगो दाबी गरी मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।