काठमाडौं– निजी विद्यालयहरुको संगठन प्याब्सन तथा नेशनल प्याब्सनले लकडाउन अवधिको समेत शुल्क चुक्ता गर्न अभिभावकलाई दबाब दिएका छन्। 'लकडाउन' शब्दावली उल्लेख नगरी २०७७ सालको शुल्क बुझाउन दुई संगठनले दबाबमूलक आग्रह गरेका हुन्। २०७७ सालको विद्यालयलमा बुझाउनु पर्ने शुल्क भुक्तानी गरी विद्यालयलाई अधिकतम सहयोग गरिदिन विज्ञप्तिमा भनिएको छ।
नेशनल प्याब्सन र प्याब्सनका अध्यक्ष क्रमश रितुराज सापकोटा र टिकाराम पुरीको अभिभावकलाई शुल्क बुझाउन संयुक्त विज्ञप्तिमा आइतबार निकालेका हुन्। विद्यार्थीको अभिलेखीकरण गराउन र गतवर्षको शुल्क बक्यौता भए चुक्ता गर्न समेत भनिएको छ।
निजी विद्यालयको आर्थिक श्रोतको माध्यम विद्यार्थीको शुल्क भएकाले अभिभावकहरुको सहयोग चाहेको दुई संगठनले उल्लेख गर्दै लकडाउनभरको शुल्क तिर्न भनेका हुन्। लकडाउनमा विद्यालयको आम्दानी शून्य भएको उल्लेख गर्दै नीजि विद्यालयमा आश्रित २ लाखभन्दा बढी कर्मचारी र उनीहरुका परिवारमा समस्या रहेको बताइएको छ।
भाडामा सञ्चालित विद्यालयहरुले भाडा तिर्न नसकेको र बैंकको ऋणको साँवाब्याज किस्ता बुझाउन नसकेको जनाइएको छ। नेपालमा महँगो इन्टरनेट, सीमित पहुँच, इन्टरनेट उपयोग गर्न सक्ने साधनहरु डिजिटल डिभाइसको सीमितताले गर्दा अनलाइन कक्षा चुनौतीपूर्ण रहेको निजी विद्यालयले जनाएका छन्।
शिक्षा मन्त्रालयलको कार्यविधि अनुरुप असार १ देखि वैकल्पिक शिक्षा पद्धति प्रयोग गरिएको विज्ञप्तिमा जनाइएको छ। एफएम रेडियो, टेलिभिजन, केवल भर्चुअल मार्फत कक्षा सञ्चालन भएको जनाइएको छ।
कोरोनाका कारण सिर्जित समस्यामा रहेका अन्य क्षेत्रमा सरकारले राहत प्याकेज उपलब्ध गराएपनि नीजि विद्यालयका लागि कुनै आर्थिक राहत नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।