लम्की- कैलाली टीकापुरका किसानले बहुउपयोगी जडिबुटी मेन्था र मेथिक्रिया (केमोमाइल)खेती गरेर राम्रो आम्दानी लिन थालेका छन्।
यहाँका किसानले हिउँदे खेती स्याहारेपछि बाँझो रहेको जमिनमा सो खेती गर्छन्। बाँझो जमिनको प्रयोग र बिक्री गर्न समस्या नहुने भएपछि सो खेतीतर्फ आकर्षित भएका हुन्। एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ। मेन्थाबाट प्रशोधित तेल १ हजार ५० रुपैयाँमा बिक्री हुन्छ भने केमोमाइल १९ हजार प्रतिकिलोमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले खरिद गर्ने गरेको छ।
‘मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ’, कम्पनीका शाखा प्रमुख कमल बेल्वासेले भने, ‘सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ।’ प्रशोधित तेल आफ्नै जडिबुटी कम्पनीले उत्पादन गर्ने तेलमा खपत भइरहेको उनले बताए। ‘केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा खपत हुने गरेको छ’, उनले भने, ‘मेन्था र केमोमाइलबाट उत्पादित तेल दर्जनौं औषधि तथा चकलेटमा प्रयोग हुन्छ।’
कम्पनीले यस क्षेत्रका किसानलाई ती जडिबुटीका विरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ। कम्पनीले उत्पादित जडिबुटी पनि आफैंले खरिद गरिदिने गरेकोले खेतीतर्फ किसानको आकर्षण बढेको हो।
यस वर्ष टीकापुरमा केमोमाइल ५० केजीमात्र उत्पादन भएको छ। यस वर्ष टीकापुरमा ६० विघामा मेन्था र ५५ विघामा केमोमाइल खेती गरिएको थियो। अघिल्लो वर्ष ३५ विघामा केमोमाइल र ४० विघामा मेन्था खेती भएको कम्पनीले जनाएको छ।
गर्त वर्षको तुलनामा केमोमाइल उत्पादन ५० प्रतिशत कमी भएको किसानको गुनासो छ। कोरोना संक्रमणका कारण तयार भएको जुडीबुटी स्याहार्न नपाउँदा किसानले क्षति व्यहोर्नु परेको हो।
यस वर्ष कम्पनीले अनुमान गरे बराबरको क्यामोमाइल उत्पादन भएन। कम्पनीले १५० केजी केमोमाइल तेल उत्पादन हुने अनुमान गरेको थियो तर ५० केजीमात्रै उत्पादन भयो।
लकडाउनका कारण किसानले खेती स्याहार्न नसक्दा यस वर्ष घाटा भएको टीकापुर–१ का कृषक राधेश्याम चौधरीले बताए। ‘लकडाउनले समयमै खेती स्याहार्न पाएनौं‚ जसले उत्पादनमा कमी आयो’, उनले भने, ‘लकडाउनको समयमा कम्पनी पनि केही दिन बन्द थियो। त्यसैले किसान र कम्पनी दुवैलाई केही नोक्सानी भएको छ।’
कम्पनीका अनुसार यस वर्ष मेन्था भने दुई टन (२ हजार किलो) उत्पादन भएको छ। यतिखेर किसानले मेन्था प्रशोधन गरिसकेका छन्। मेन्था खेती स्याहारेपछि किसानले धान खेती गर्छन्।
यहाँका किसानले दुई कठ्ठादेखि दुई बिघासम्म खेती गरेका छन्। ‘खेती बाँझो रहने समयमा जडिबुटी रोपेर आम्दानी लिइरहेका छौं’, टीकापुर बनगाउँको बीचकापुरुवाका किसान राजेन्द्र चौधरीले भने, ‘यो खेतीमा विषादी प्रयोग गर्नुपर्दैन। यसमा सिँचाइको सुविधा भए पुग्छ। जडिबुटीलाई गाइवस्तुले पनि खासै नोक्सान गर्दैनन्।’
प्रशोधन कम्पनीसँग जुडिबुटी प्रशोधन गर्ने दुई थान मेशिन थिए। खेती गर्ने किसान बढेपछि जडिबुटी प्रशोधन कम्पनीले थप चार मेसिन बढाएर छ पुर्याएको छ।
जडिबुटी खेती अन्नबालीभन्दा सजिलो र नगदेबाली भएकोले किसानको आकर्षण बढेको उनीहरुको भनाइ छ। परशुराम चौधरीले तरकारी खेती गर्नुभन्दा जडिबुटी सजिलो भएकोले मेन्था खेती गर्न थालेको बताए। उनले यस वर्ष आठ कठ्ठा जमिनमा मेन्था लगाएका थिए। ‘आठ कठ्ठामा ३२ किलो मेन्था उत्पादन भयो। सिँचाइको सुविधा भएमा कम लागतमा बढी आम्दानी लिन सकिन्छ’, उनले भने, ‘जडिबुटी खेती गर्दा बजारसमेतको समस्या नभएकोले सहज भएको छ। बजार आफैं खोज्नुपर्दैन, कम्पनीले जडिबुटीको बीउ पनि दिन्छ र उत्पादन पनि आफैंले किनिदिन्छ।’
कम्पनीले स्थानीयलाई रोजगार पनि दिएको छ। कम्पनीको टीकापुर शाखामा नियमितरुपमा ३० जना दैनिक ज्यालादारीमा र सात जना स्थायी कर्मचारी छन्। औद्योगिक क्षेत्रमा तीन हेक्टर जमिनमा जडिबुटी उद्योग सञ्चालनमा छ। जडिबुटी उद्योगसँग रहेको ६ वटा प्रशोधन मेशिन दैनिक १६ घण्टा चल्छन्। ‘कम्पनीले दैनिक ५० टन जडिबुटी प्रशोधन गर्न सक्छ,’ उनी भन्छन्, ‘जेठ र असारमा मेन्था, फागुन र चैतमा क्यामोमाइल प्रशोधन गरिन्छ। अन्य समयमा कोरा जडिबुटी संकलनको काम गर्छौं।’
पछिल्लो समय स्थानीय तहले पनि जडिबुटी खेती गर्ने किसानलाई सघाउने नीति लिएका छन्। लम्कीचुहा नगरपालिकाले जुडीबुटी खेती गर्न चाहने किसानलाई आवश्यक अनुदान दिने जनाएको छ। ‘जडिबुटी गर्न चाहने किसान आएमा हामी लगानी गर्न तयार छौं,’ नगर प्रमुख महादेव बजगाईंले भनेर, ‘किसानले योजना ल्याएमा अनुदान दिन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।