काठमाडौं- पश्चिम रुकुमको चौरजहारी घटनामा आरोपितहरूको थुनछेक बहस शुरु भएको छ। रुकुमकोट जिल्ला अदालतमा बयान समाप्त गर्दै थुनछेक बहश शुत्ररबारबाट शुरु भएको हो। आज सात जना जनाले बहश गरेका छन्। पाँच सरकारी वकिल र दुई जना पक्षका कानुन व्यवसायीले आफ्नो बहस गरेका छन्।
दाङ, सुर्खेत र पश्चिम रुकुमका सरकारी वकिलहरूले बहस गर्दै घटनामा संलग्नहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्ने माग गरेका थिए। चौरजहारी घटना मानवताविरुद्ध, जघन्य भएकाले उनीहरुलाई धरौटीमा रिहा गर्न नमिल्ने उनीहरुको जिकीर छ।
कर्तव्य ज्यान, जातीय छुवाछुत र ज्यान मार्ने उद्योगमा मुद्दा चलेकाले धरौटीमा छोड्न नहुने उनीहरुको तर्क थियो। सरकारी वकिलहरुले घटना योजनाबद्ध, सुनियोजित र हत्या गर्ने नियतले भएको जिकीर गरेका थिए। उनीहरुले ३२ जना अभियुक्तहरुलाई हदैसम्मको सजाय गर्नुपर्ने माग गरेका थिए। सरकारी वकिलकोहरूको बहसपछि दुई जना कानुन व्यवसायीहरुले आरोपितहरूको तर्फबाट बहश गरेका थिए।
उनीहरुले घटना योजनाबद्ध नभई भवितव्य भएको जिकीर गरेका थिए। उनीहरुले ६ जनाको युवाको हत्या गर्ने नियत राखेर आक्रमण नगरेको तर भेरी नदीमा बगेका कारण मृत्यु भएको तर्क गरेका थिए। शुक्रबार पक्षका कानुन व्यवसायीको बहस समाप्त नभएकाले आइतबारसम्मका लागि मुद्दालाई हेर्दाहेर्देमा राखिएको जिल्ला अदालतल रुकुमकोटले जनाएको छ।
आइतबार पक्षका कानुन व्यवसायीको बहसपछि थुनामा पठाउने वा धरौटीमा छोड्नेबारे अदालतले निर्णय सुनाउने छ।
पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ जना, तेस्रो दिन बुधबार १० जना र चौथो दिन बिहीबार आठ प्रतिवादीको बयान लिइएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए।
६ युवाको ज्यान जाने गरी गत जेठ १० गते भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका ५ जनासमेत गरी ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।
सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा तथा जाजरकोटका एक जनाविरुद्ध मतियार कसूरमा मुद्दा लागेको छ।
घटनामा संलग्न भएको आरोपमा मुद्दा लागेका दुई नाबालकलाई भने अदालतले सोमबार मुद्दा पुर्पक्षका लागि बालगृहमा पठाउन आदेश गरेको थियो। उक्त आदेशानुसार प्रहरीले एक नाबालकलाई नेपालगञ्ज र एक जना नाबालकलाई भक्तपुरको बालसुधारगृहमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।