काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच दिउँसो एक बजे भर्चुअल बैठक हुने भएको छ।
नेकपा स्कुल विभागले आयोजना गरेको कार्यशालामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, स्कुल विभाग प्रमुख इश्वर पोखरेल, सदस्य बेदुराम भुसाल, देवेन्द्र पौडेललगायत ३० जनाभन्दा बढी नेताहरु काठमाडौंबाट सहभागी हुने नेता देवेन्द्र पौडेलले बताए। यस्तै सातै प्रदेशबाट नेकपा नेताहरु सहित कुल एक सयभन्दा धेरै सहभागी हुने पौडेलको भनाइ छ। भर्चुअल कार्यशाला २ घण्टाको हुने भनिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरु कार्यक्रममामा सहभागी हुने भएका छन्। ‘गत वर्षको असोजमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच काठमाडौमा दुई देशका कम्युनिष्ट पार्टीको अनुभव आदानप्रदान भयो,’ स्कुल विभाग सदस्य पौडेलले भने, ‘यस वर्ष चीनमा गएर नेकपा नेताहरुले प्रशिक्षण दिने भन्ने थियो । तर कोरोना भाईरसका कारण स्थगित भएको कार्यशाला भिडियोमार्फत् भर्चुअल कार्यशाला हुन लागेको हो ।’
०७६ असोज ६ र ७ गते चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच काठमाडौमा कार्यशाला गोष्टी तथा कार्यशाला भएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ, प्रवक्ता र स्कुल विभाग प्रमुखले चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक दर्शन, पार्टी प्रणाली लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।