काठमाडौं- लाइफब्वोय ब्रान्डको ह्याड स्यानिटाइजरमा भ्रामक विज्ञापन गरिएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त ब्राण्डको वितरक ‘लाइफ केयर डिस्टिब्युटर्स प्राली, काठमाडौं’ लाई स्पष्टिकरण सोधेको छ।
ह्यान्ड स्यानिटाइजरले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै भ्रामक प्रचार र विज्ञापन गरेको भेटिएपछि प्रस्टिकरण सोधेको हो। अहिले कोभिड १९ रोग महामारीका बेला स्यानिटाइजरको बढी प्रयोग हुने तथा उक्त रोगको औषधि पत्ता नलागिसकेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनु मात्रै विकल्पका रुपमा देखिएको बेला लाइफब्वोय ब्रान्डले यस्तो भ्रामक प्रचार र पुष्टि नहुने कुराको दाबी गरिरहेको भेटिएको हो।
विभागले उक्त वितरक कम्पनीलाई लाइफब्वोय ब्राण्डको स्यानिटाइजरमा ‘इम्युनिटी बुस्टिङ्ग हान्ड स्यानिटाइजर’ लेखेको पाइएकोले स्यानिटाइजर इम्युनिटि वुस्टिङ्ग (रोग प्रतिरोधात्मक क्षमता बढाउने) कसरी भयो? त्यसको पुष्टाइ हुने आधार, प्रमाणसहित असार ७ गतेभित्र विभागमा उपस्थित हुन’ निर्देशन दिएको छ।
त्यस्तै उक्त कम्पनीले चालु आर्थिक वर्षमा गरेको कारोबारको खरिद तथा बिक्री बिल बिजक पनि विभागमा पेश गर्न निर्देशन दिइएको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २ खण्ड ‘ख’ मा झुटा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बेच्नुलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापका रुपमा परिभाषित गरेको छ। कानुनतः यो निषेधित काम हो।
सोही उपदफाको खण्ड ‘ग’ मा ‘कुनै पनि वस्तु वा सेवाको मौखिक, लिखित वा दृश्यका माध्यमबाट घोषित गरिएका कुनै फाइदा नहुने अवस्थामा पनि वस्तु वा सेवाको बिक्री गर्दा झुटा र भ्रमपूर्ण विज्ञापन वा सुचना प्रसार गर्न नपाउने तथा तथ्यगत आधारबिना कुनै वस्तुको उपभोग वा प्रयोगबाट त्यस्तो वस्तुको दाबी वा प्रत्याभूति गर्न नपाइने’ व्यवस्था रहेको छ। यदि कसैले त्यस्तो गरिएको भेटिएमा सोही ऐनको दफा ३८ बमोजिम कसुर गरेको मानी विभागले कारबाही गर्न सक्ने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।