काठमाडौं– सरकारले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा डा दिव्यासिंह शाहलाई नियुक्त गरेकोप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संस्थाले विरोध जनाएको छ।
नेकपामा समर्थित अनेरास्ववियूले डिन पदको रिक्तता, सर्च कमिटीको बनावट र सिफारिस अवैज्ञानिक भएको आरोप लगाउँदै विरोध जनाएको हो।अनेरास्ववियू त्रिवि कमिटीले डिन सिफारिस कमिटी अमुक व्यक्तिलाई पदमा नियुक्त गराउने डिजाइनको रुपमा रहेका आरोप लगाएको छ।
डा गोविन्द केसीको आन्दोलनले योग्यता र वरिष्ठतामा आधारमा नियुक्त हुने नजिरलाई विस्थापित गरेको अनेरास्ववियूको दाबी छ। डा केसीको सत्याग्रहमा सहभागिता र ऐक्यबद्धता जनाउने व्यक्तिहरु नै नेताको टीका लगाएर डिन बन्ने प्रवृत्ति देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
शाहको नाम नलिईकन उनको नियुक्तिप्रति अनेरास्ववियूले विरोध गरेको छ। कोरोना महामारीको बेला रातारात विषय टुङग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डिन बनाइएको संगठनको आरोप छ।
शाहको नियुक्त फिर्ता गरेर योग्यता र वरिष्ठतामा आधारमा नियुक्त नगरिए डिनको कार्यालय तालाबन्दी गर्ने संगठनले चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।