काठमाडौं-सरकारले गत वर्षको तुलनामा यसवर्ष प्रतिक्विन्टल २ सय रुपैयाँ बढाएर धानको समर्थन मूल्य तोकेको छ।
गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मझौला खालको धान प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ। गतवर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ५ सय ३१ रुपैयाँ ८० पैसा र मध्यम धानको प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँ थियो।
गतवर्षको तुलनामा यसवर्ष तोकिएको धानको समर्थन मूल्य मोटा धानमा २ सय ३ रुपैयाँ १९ पैसा र मध्यम धानमा २ सय १२ रुपैयाँ प्रतिक्विन्टल बढी हो।
अघिल्ला वर्षहरुमा सरकारले धान खरिद प्रकृया सुरु गर्नुभन्दा केही अगाडि मात्र समर्थन मूल्य तोक्ने गरेकोमा यसवर्ष भने धान रोप्नु अगावै समर्थन मूल्य तोकेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा बाली लगाउनुअगावै धानको समर्थन मूल्य तोक्ने र किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नसके सरकार आफैंले खरिद गर्ने उल्लेख गरेको छ। धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएकाे थियाे भने मंगलबार बसेको मन्त्रिपरिषदले यसको निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।