काठमाडौं- पार्टी स्थायी कमिटी बैठक बोलाउन पर्यो भनेर हैरान भएर २० स्थायी कमिटी सदस्यले वैशाख १० गते अध्यक्ष केपी ओली र प्रचण्डलाई पत्र नै लेखे। बैठक बोलाउनुपर्यो भनेर अर्का अध्यक्ष प्रचण्डले ओलीलाई बालुवाटारमै भेटेर बैठक बोलाउन भनेर निक्कै दबाब समेत दिए।
निक्कै दबाबमा परेका ओलीले एक दिनका लागि भन्दै वैशाख ३१ गते स्थायी कमिटी बैठक बोलाउन सहमत भए। अन्तिममा सबै स्थायी कमिटीको पिसीआर परिक्षण भएको छैन भन्ने निहुँमा स्थागित गरियो। नेताहरुको निक्कै प्रयासपछि अध्यक्ष ओलीले बालुवाटारमै असार १० गते स्थायी कमिटी बैठक बोलाएका छन्।
बैठकको एजेण्डा र समय भने नतोकिएको नेकपा कार्यालय सचिव श्रीराम ढकालले बताए।
अमेरिक आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) संसदबाट पारित गर्ने विषयमा सचिवालय बैठक बस्ने सहमति भयो। अध्यक्ष ओलीले विभिन्न बहाना बनाएर दुई पटक स्थागित नै भइसकेको छ। एमसिसीको विषयमा समेत ओलीले बैठक राखेर नेताहरुको कुरा सुन्ने पक्षमा देखिएका छैनन्। बैठक छलेर ओलीले एमसिसीलाई संसदबाट पारित गर्ने अन्य विकल्पको खोजीमा लागेको हुन सक्ने नेताहरु बताउँछन्।
पार्टीको बैठक नियमित नबस्दा शरीरको रक्तसञ्चार बन्द भए जस्तै बन्द हुने नेकपा स्थायी कमिटी सदस्य गणेश साहले बताए। ‘शरीरको जसरी रक्तसञ्चार नियमित भइरहन्छ। पार्टीको बैठक पनि नियमित बस्ने, छलफल गर्ने, विचार विमर्श गर्ने गर्नुपर्छ’, साहले भने, ‘यदी पार्टीको बैठक नियमित बस्न छाड्यो भने शरीरको रक्त सञ्चार बन्द भए जस्तै जनताबाट मात्रै होइन, कार्यकर्ताबाट टुट्दै जान्छ।’
जनता नेता कार्यकर्ताले दिएको विश्वासलाई अध्यक्ष ओलीले बैठक नराखेर दुरुपयोग गरेको साहले आरोप लगाए। बैठक बोउलाउन पार्टी नेतृत्व सहमत नहुँदा पार्टीभित्रको असन्तुष्टि चुलिदै गएको साहको भनाई छ।
यस्तै अर्की स्थायी कमिटी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओली पार्टीमा अल्पमत र आफूलाई अनुकूल पर्दा बैठक बोलाउने नभए बैठकको नामै सुन्न नचाहँदा पार्टीमा समस्या बढ्दै गएको टिप्पणी गरिन्। ‘उहाँ (केपी ओली) आलोचना सुन्ने भनेपछि पटक्कै सक्नुहुन्न। तनाव सुरु भइहाल्छ’, शाक्यले भनिन्, ‘पार्टीमा भन्नुपर्ने विषय धेरै छन्, आलोचना गर्नुपर्ने विषय धेरै छन्। केपी कमरेडलाई त्यो सुन्ने मन छैन।’
लामो समय केपी कमरेड जेल बसेकाले पार्टी संगठनको महत्त्वको विषयमा थाहा नै नभएको शाक्यले आरोप लगाइन्। ‘नवौं महाधिवेशनबाट केपी कमरेड अध्यक्ष भएपछि बैठक नियमित बस्न छाड्यो। मन लागे बैठक बस्यो, मन लागेन बसेन। बल्लबल्ल बैठक राख्यो तर बैठक सक्नै हतार हुने भयो’, शाक्यले भनिन्, ‘उहाँ (केपी) को त्यही स्वभाव नेकपामा सरेको छ। पार्टी बैठक नबसेको यति लामो समय भइसक्यो। वास्ता नै छैन।’
पार्टी अध्यक्षले अरुको कुरा सुन्नै नचाहँदा पार्टीको हालत बिग्रदै गएको शाक्यको भनाई छ। पार्टी बैठक नियमित बस्दा नेता कार्यक्रम सक्रिय हुनुका साथै संगठनले जिवन्तता पाउने शाक्यको विश्लेषण छ।
कहिले बसे केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक?
पार्टी एकता भएको झण्डै दुई वर्ष पुग्दा समेत अझै पोलिटब्यूरो गठन हुन सकेको छैन। अहिले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको मात्रै संरचना छ। पार्टीमा अरु कमिटी बनाए पनि सबै निर्णयहरु सचिवालयबाट हुँदै आएका छन्। पार्टी एकता भएको दुई वर्षमा एक पटक गत माघ १५ गतेदेखि १९ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्यो। केन्द्रीय कमिटी बैठक पनि लामो समय माग गरेपछि मात्रै बस्यो।
स्थायी कमिटी बैठक पार्टी विधान अनुसार तीनतीन महिनामा बस्नुपर्ने व्यवस्था छ। झण्डै दुई वर्षमा तीन पटक मात्रै बस्यो। स्थायी कमिटी बैठक २ असोज ०७५, ८ पुस ०७५ र २९ मंसिर ०७६ मा बसेको रेकर्ड छ ।
हरेक पटक स्थायी कमिटी बैठक बस्न नेताहरुले दबाब दिएपछि मात्रै बस्ने अवस्थामा पार्टी पुगेको छ। स्थायी कमिटी बैठक ओलीले आफू अनुकुल भए राख्ने र प्रतिकुल भए धकेल्दा बैठक राख्न सकस भएको नेताहरु बताउँछन्। पार्टी अध्यक्षले नै आफ्नो कमजोरी छल्न बैठक सार्दै जाँदा समस्या झन् बल्झिँदै जाने सम्भावना छ।
ओलीका सल्लाहकारहरु
प्रधानमन्त्री ओलीलाई सल्लाह दिने टिमका प्राय विभिन्न जिम्मेवारीमा छन्। राष्ट्रपति विद्या भण्डारीले पनि सल्लाह दिनुका साथै ओलीले पार्टीका हरेक निर्णयमा साक्षी बनेर साथ दिने गरेको नेताहरु बताउँछन्। पार्टी र सरकारको निर्णयमा अप्ठ्यारो परे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली,पार्टी महासचिव विष्णु पौडेल छन्।
यसअघि प्रधानमन्त्री ओलीले दललाई फुटाउन सजिलो हुनेगरी अध्यादेश जारी गरेपछि समन्वय गर्न मुख्यमन्त्री पोखरेल र गुरुङ काठमाडौंमा लामो समय बसे। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट जोगाउन शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली अहोरात्र खटेरै लागे। ओली निकट नेताको भूमिकाले अप्ठ्यारोमा परेका ओलीलाई गाँठो फुकाएर आ–आफ्नो क्षेत्र फर्किए।
यस्तै ओलीलाई सल्लाह दिनेमा सुवासचन्द्र नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, प्रदेश १ का शेरधन राई समेत पर्छन। तर ओलीलाई सल्लाह दिने भन्दा सहज हुनेगरी पार्टी र सरकारमा भूमिका खेल्नेगरी तल्लो तहमा महेश बस्नेत, कर्ण थापा, किसन श्रेष्ठ, प्रेम आले लगायत नेता छन्। ती नेताहरुले बाहिर भइरहेको सूचना दिने ओलीले दिएको निर्देशनलाई कार्यान्वयन लग्ने काममा भूमिका खेल्छन्।
सरकार र पार्टीले लिने निर्णयमा पहिलो तहमा बसेका नेताहरुले नै प्रधानमन्त्री ओलीलाई सल्लाह सुझाब दिने गरेको स्थायी कमिटी सदस्यले बताए। ‘प्रधानमन्त्रीज्यूले पार्टीमा कुनै निर्णय गर्दा यस्तो गर्दै छु, के गर्ने होला भन्नुहुन्छ’, ती स्थायी कमिटी सदस्यले भने, ‘कहिले हामीले भनेको सुझाव मान्नुहुन्छ। कहिले निर्णय भएपछि यस्तो भयो के गर्ने होला भन्नुहुन्छ।’
तर प्रधानमन्त्रीका एक सल्लाहकारले कुनकुन व्यक्ति भन्दा पनि विषयवस्तुको ज्ञानका आधारमा आफू निकटसँग सल्लाह लिने गरेको बताए। ‘प्रधानमन्त्रीज्यूले व्यक्ति हेरेरभन्दा विषयबस्तुमा जानकार आफ्नो मान्छेबाट सल्लाह लिनुहुन्छ’, ती सल्लाहकारले भने, ‘कानूनी पाटोमा प्राय सुवास नेम्वाङ, राष्ट्रिय अन्तर्राष्ट्रिय कुटनीति र राजनीतिमा प्रदीप ज्ञावली, राजन भट्टराई, अर्थ तथा वित्तीय क्षेत्र भएमा युवराज खतिवडा, विष्णु पौडेल लगायत नेताले सुझाब दिनुहुन्छ।’
प्रचण्डः नाम मात्रैका कार्यकारी अध्यक्ष
नेकपामा पार्टी अध्यक्षको पहिलो वरियतामा ओली र दोस्रो वरियतामा प्रचण्डलाई राखिएको छ। प्रचण्डले पार्टीमा भूमिका नै भएन भन्ने गुणासो गरेपछि ४ मंसिर ०७६ मा ओली प्रचण्डवीच समझदारी भयो। ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने प्रचण्डले पार्टीमा कार्यकारी अध्यक्षको रुपमा भूमिका निर्वाह गर्ने समझदारी भयो।
पार्टीमा कार्यकारी अध्यक्ष प्रचण्ड भए पनि बैठक बोलाउने विषयमा कुनै भूमिका छैन। अध्यक्ष ओलीले बैठक नै बोलाउन नमानेपछि अर्को अध्यक्ष प्रचण्ड समेत हैरान छन्। कार्यकारी अध्यक्ष भएपछि प्रचण्ड दुई पटक सचिवालय र एक पटक स्थायी कमिटी बैठकको अध्यक्षता गरे। प्रचण्डले बैठकको अध्यक्षता गरे पनि सबै ओलीको सल्लाहमा निर्णय हुने गरेको माओवादी समूहका एक नेताले बताए। पार्टी र सरकारको निर्णयमा प्रचण्डको भूमिका नै नभएको ति नेताले बताए।
अध्यक्ष ओलीले गर्ने निर्णयमा प्रचण्डले माधव नेपाल र झलनाथ खनालको साथ लिएर हस्तक्षेप गर्ने प्रयास गरे पनि सफल भएको देखिएको छैन। तर, ओलीको अगाडि प्रचण्ड एक्लै केही गर्न नसक्ने अवस्थामा हुने गरेको ती स्थायी कमिटी सदस्यले बताए। ‘प्रचण्डलार्ई पार्टी अध्यक्ष भनिएको छ। केही निर्णय गर्न सक्ने अवस्था छैन’, ती स्थायी कमिटी नेताले भने, ‘अध्यक्ष ओलीले जे जे निर्णय गर्नुहुन्छ, त्यसैमा प्रचण्डले सहमति जनाउने मात्रै हो।’
एमाले अध्यक्ष हुँदादेखि नै ओलीले बैठक राख्न रुची देखाउँदैन थिए
तेह्रथुमको गरिब परिवारमा जन्मिएका ओली झापाको सरुङगा स्थिति कनकाई नदी किनारमा अभावमै हुर्किए। नेपालसँग जोडिएको भारतको नक्सलवाडी विद्रोहको रापले छोएपछि कम्युनिस्ट विचारसँग जोडिए ओली। झापा विद्रोहबाट कम्युनिस्ट राजनीतिमा जोडिएका ओली पञ्चायकालको १४ वर्षजेलमै विताए । २०२८ सालमा पक्राउ गरेको ओली २०४४ सालमा मात्रै छुटे।
२०५६ सालको संसदीय चुनावपछि पार्टीको नेतृत्वमा नेपाल भए पनि संसदीय दलको नेतामा ओलीले ईच्छा देखाए। महाधिवेशनबाट नेपाल महासचिव भएकाले दलको नेता ओलीलाई छोड्न तयार भएनन्। त्यसैको झोंकमा ओलीले आफ्नो आधिकारिक गुट बनाएर राजनीति गर्न थाले। ओलीको गुटमा सुरुदेखि नै विद्या भण्डारी, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायत नेताहरु खम्बा बनेर उभिए।
ओलीले पार्टीमा शक्ति बढाउँदै लगे पनि एमालेको आठौं महाधिवेसनबाट झलनाथ खनालसँग पराजित भए। ०७१ असारमा भएको एमाले नवौं महाधिवेशनमा माधव नेपाललाई अध्यक्षमा पराजित गरेपछि ओली पार्टी अध्यक्ष भए।
लामो समय जेल जीवन बिताएकाले केपी ओलीलाई पार्टी पद्धति र संगठन कसरी व्यवस्थित चलाउनुपर्छ भन्ने ज्ञान नै नभएको नेकपा नेता प्रदीप नेपालले बताए। ‘केपी कमरेड पार्टीमा काम गर्दागर्दै युवा अवस्थामै जेलमा पर्नुभयो। पार्टीमा संगठन बनाएर नेता कार्यकर्तामा धेरै भिज्न पाउनुभएन’, नेपालले भने, ‘उहाँ (केपी) मा सैद्धान्तिक ज्ञान भए पनि पार्टी संगठन कसरी चलाउनुपर्छ, बैठकको महत्त्व कति हुन्छ भन्ने विषयलाई ध्यान दिन सक्नुहुन्न।’
एमाले अध्यक्ष ओली हुँदा पार्टी केन्द्रीय कमिटी, पोलिटव्युरो लगायत बैठकहरु नियमित नहुँदा हैरानी व्यहोर्नुपरेको नेपालले स्मरण गरे। ‘एमाले अध्यक्ष भइसकेपछि पार्टीको बैठक बोलाउनुपर्यो भनेर महासचिव ईश्वर पोखरेलले भन्नुहन्थ्यो। पार्टी अध्यक्षले बैठक राख्न नमानेपछि महासचिवको केही चल्दैन थियो। अध्यक्ष ओली बैठक नै राख्न मान्नुहुन्थ्यो’, नेपालले भने, ‘नेकपा अध्यक्ष भएपछि बैठक नियमित चल्या छ/छैन अहिले थाहा छैन।’
यस्तै नेकपाकै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओली भएदेखि नै नियमित बैठक बस्न छाडेको आरोप लगाइन्। ‘पार्टी नेतृत्व माधव कमरेड झलनाथ कमरेड हुँदा नियमित बैठक बस्ने, धेरै दिनसम्म छलफल हुने, पार्टी प्रशिक्षण नियमित हुने हुन्थ्यो’, शाक्यले स्मरण गर्दै भनिन्, ‘माधव कमरेड र झलनाथ कमरेड नेतृत्वमा हुँदा केपी कमरेड नेतृत्वमा हुनुहुन्न थियो। उहाँ (केपी) खालि बैठकमा खोचे थाप्ने, उल्टो सुल्टो तर्क गरेर अप्ठ्यारो पार्ने, आफ्ना कुरा राखेर गइहाल्ने गर्नुहुन्थ्यो, अरुको कुरा सुन्दै सुन्नु हुन्नथ्यो।‘
तर नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी विधान र पद्धित अनुसार बैठक बस्ने बताए। ‘अहिले कोरोना महामारीको संक्रमण छ। पार्टीका नेता साथीहरुले बैठकको आह्वान गर्नुभएको छ’, विश्वकर्माले भने, ‘अध्यक्ष ओली प्रचण्डको सल्लाह छलफल भएपछि बैठक बस्छ। बैठक बस्ने विषयमा चाहेर बैठक रोकिने र चल्ने भन्ने हुँदैन। आवश्यकता अनुसार बस्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।