काठमाडौं- अवैध असुलीबाट सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण मुद्दा लागेका गुन्डा नाइके चक्रे मिलनको मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश गरेको छ।
सरकारले दर्ता गरेको पुनरावेदनमा सुनुवाई गर्दै बुधबार प्रत्यार्थी झिकाउने आदेश गरेको हो। न्यायाधीश मिरा खड्का र मनोजकुमार शर्माको इजलाशले मिलन गुरुङको मुद्दा सर्वोच्चमा शुरु गर्ने आदेश गरेको हो।
बुधबारको आदेशपछि उनको मुद्दाको सुनुवाई अघि बढ्ने भएको छ। मंगलबार अर्का गुन्डा नाइके अभिषेक गिरीको मुद्दा सुनुवाई गरेको थियो। सर्वाेच्चले गिरीको मुद्दामा सरकारी पक्षले गरेको पुनरावेदन स्वीकार गर्दै छलफलमा बोलाउने आदेश गरेको थियो। विशेष अदालतले २०७४ माघ १० गते सफाइ पाएका थिए।
अर्थमन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चार वर्ष लगाएर ५ जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। अवैधानिक क्रियाकलापबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको भन्दै ०७० जेठ ५ मा विशेष अदालतमा करोडौं रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।
मुद्दा दर्ता भएको चार वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै गणेश लामा बाहेक सबैलाई सफाइ दिएको थियो। चक्रेले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी अभियोगपत्रमा गरिएको थियो। चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो। सर्वोच्चले विशेषको फैसलालाई अब फेरि तथ्य जाँच गर्दै फैसला सुनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।