काठमाडौं– प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयलाई परिपत्र गर्दै अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न भन्दै परिपत्र गरेको छ।
अपराध अनुसन्धान विभागका प्रमुख एआइजी हरि पालद्वारा हस्ताक्षरित पत्रमा महानगरीय प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेख्दै सतर्क रहन निर्देशन दिएको हो। कारोना भाइरस माहामारीका कारण लामो समयसम्म जारी लकडाउन खुकुलो बन्दै जाँदा अपराध बढ्ने र अपराधका नयाँ नयाँ शैली देखापर्ने भएकाले अपराध नियन्त्रण गर्न भन्दै प्रहरी प्रधान कार्यालयले ‘लकडाउन खुकुलो पश्चात हुने अपराध नियन्त्रण र तथा न्यूनीकरण कार्यजोजना २०७७’ लागू गरेको छ।
प्रहरी प्रधान कार्यालयले अब चोरी बढ्ने भन्दै विगतका स्थानमा हुने चोरी नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गर्नुपर्ने, आर्थिक कारोबार हुने स्थान र बढी भिड हुने व्यापारीक क्षेत्रमा र बहुमूल्य सामानको कारोबार हुने स्थानहरुमा गस्ती, पेट्रोलिङ बढाउन, जेलबाट छुटेका पकेट चोर, डाँकाहरुको निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।
रातको समया हिँडडुल गर्ने मानिसको निगरानी गर्न, एम्बुसिङ र गस्ती बढाउने पनि हेडक्वाटरले सातै प्रदेश र महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। ती कार्यालयहरुले आफू मातहतका कार्यालयलाई समेत यी कार्यहरु कडाईका साथ लागू गर्न भनिएको छ।
चोरी/डकैतीसँगै हत्या, हिंसाका घटना पनि बढ्न सक्ने भन्दै सतर्क रहन निर्देशन दिइएको छ। सूचना संकलन गर्न‚ छुट्टै अनुसन्धान टोली तयार गर्न‚ होटल रेष्टुराँहरुको जाँच गर्न, पेशेवर अपराधी, गुण्डागर्दी गर्ने व्यक्तिको सुक्ष्म निगरानी गर्न पनि निर्देशन दिइएको छ।
त्यसैगरी भारतीय सीमा नाकाहरुमा कडाईका साथ जाँच गर्नेदेखि साना हतियारको कारोबार गर्ने व्यीक्तको पहिचान गरी खबर संकलन गर्न भनिएको छ।
अर्कोतर्फ घरेलु हिंसा, महिला तथा बालबालिकासम्बन्धी हुने अपराधमा पनि वृद्धि हुने भन्दै त्यसतर्फ पनि सचेत रहन पत्रमा उल्लेख गरिएको छ।
अर्कोतर्फ अबको अर्को चुनौती भनेको आर्थिक अपराध रहेको भन्दै त्यसतर्फ विशेष निगरानी बढाउन निर्देशन दिइएको छ। अनलाइन ठगी, हुण्डीलगायतको अपराध बढ्न सक्ने आँकलन हेडक्वाटरले गरेको छ।
लकडाउन खुकुलो भएसँगै नेकपा विप्लव समूहबाट पनि सुरक्षा थ्रेट हुने हेडक्वाटरले आँकलन गरेको छ। हेडक्वाटरले जारी गरिएको परिपत्रमा भनिएको छ, ‘विप्लव समूहको सूचना संकलन गर्न, भेटिएमा तुरुन्त पक्राउ गर्न र चन्दा आतंक रोक्न विशेष टोली परिचालन गर्नू।’
अर्कोतर्फ लकडाउन खुकुलो भएसँगै विभिन्न सार्वजनिक स्थानहरुमा अवान्छित गतिविधि बढ्ने भएकाले त्यस्ता स्थानहरुमा भीड गर्न नदिन निर्देशन दिइएको छ।
त्यसैगरी लकडाउन खुकुलो भएसँगै राजनैतिक विरोधका कार्यक्रमहरु पनि बढ्ने भएकाले त्यसको सुक्ष्म अवलोकन गर्न, राजनैतिक गतिविधिको नाममा अराजक गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउन निर्देशन दिइएको छ।
त्यसैगरी एमसिसी कार्यान्वयनसम्बन्धी विरोध हुन सक्ने, सीमा अतिक्रमणसम्बन्धी विरोधको कार्यक्रम हुन सक्ने भएकाले त्यसतर्फ सजक भएर काम गर्न निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।