काठमाडौं- अवैध आर्जनबाट सम्पत्ति आर्जन गरेको आरोप लागेका गुन्डा नाइके अभिषेक गिरिको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा सुरु भएको छ।
विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गरेको पुनरावेदनलाई सर्वोच्चले अनुमति दिएको हो।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले गिरीको मुद्दालाई पुनरावलोकन गर्ने अनुमतिसँगै प्रत्यक्षी झिकाउने आदेश पनि दिएको छ।
योसँगै अब सर्वोच्चमा उनको मुद्दामा बहश हुनेछ। गिरीलाई विशेष अदालतले २०७५ असार ५ गते सम्पत्ति शुद्धिकरणको मुद्दामा सफाइ दिएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको थियो। सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते गिरीसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो।
विभागले गिरीसँग २.९४ करोड रुपैयाँ अवैध सम्पति रहेको दाबी गरेको थियो। विशेषबाट दीपक मनाङे, चक्रे मिलन र पर्शुराम बस्नेतले पनि सम्पति शुद्धिकरणको मुद्दामा सफाइ पाएका थिए। विशेषले गणेश लामालाई मात्र दोषी ठहर गरेको थियो। गिरीसहित सर्वोच्चमा लामा र अन्यको मुद्दा पनि पुनरावेदन दर्ता भएर सुनुवाइको क्रममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।