काठमाडौं– सरकारले विदेशी च्यानल विज्ञापनरहित प्रसारण गर्न च्यानल प्रदायकहरूलाई निर्देशन दिएको छ। सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले विदेशी च्यानलमा विज्ञापन बजाउन नपाउने निर्णय जारी गरेको हो।
विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने कानुनमा स्पष्ट व्यवस्था भएको विभागका निर्देशक सुदीप भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ऐनको दफा ६ को उपदफा (१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्थाअनुसार सूचना गरिएको जनाइएको छ। विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने समेत ऐनको व्यवस्था स्मरण गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।