काठमाडौं- 'कथाकार'को शब्द रहेको लकडाउन गीत (एकापेला) 'पिँजडाको चरा' बजारमा आएको छ। कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनमा रहेका मानिसहरूको अवस्था चित्रण गरिएको एकापेलामा अंकितबाबु अधिकारी र शप्तक दूतराजले आवाज दिएका छन्। अंकितबाबु अधिकारीकै कम्पोजिसन रहेको गीतमा गायकद्वय अधिकारी र दूतराजसहितको फिचरिङ छ।
म्युजिक भिडियोसहित आएको गीतको निर्देशन भने सम्रान्त थापाले गरेका छ। गीत आर्टमान्डु नेपाल प्रालिले बजारमा ल्याएकभो हो। यो गीत देशकै पहिलो ओरिजनल क्यापेला नेपाली 'एकापेला' गीत भएको भएको दाबी निर्माण पक्षले गरेको छ।
एकापेला गीतमा कुनै पनि वाद्यवादन प्रयोग गरिएको हुँदैन। मुखबाटै विभिन्न धूनहरु निकाली तयार पारीने यस्तो गीत प्रायजसो एक वा दुई जनाले मिलेर ओरिजिनल दृश्यलाई नै गीतमा समावेश गरिन्छ। लकडाउनको अवस्था चित्रण गर्न एकापेला उपयुक्त गीतीविधा भएको निर्माण पक्षको ठहर छ।
विश्वभर शान्तिसहितको मौन अशान्ति छाएको अवस्था गीतमा प्रस्तुत गरिएको गीतका सर्जक कथाकारले बताए। लकडाउनले बाह्य वातावरण शान्त देखिएपनि मानिसको मनभित्रको अशान्तिको शंखनाद गीतमा प्रस्तुत गर्न खोजिएको उनको भनाइ छ।
'मानिसहरुको भीडमा नाँच्ने शान्ति अहिले घरभित्रको एक्लोपना र एकान्तवासमा पनि एकखालको अशान्ति छाएको छ,' गीतका शब्दकार 'कथाकार'ले भने। गीतमार्फत् उनले सम्बन्धित पक्षलाई जनपक्षीय निर्णय लिन खबरदारी समेत गरेका छन्।
'म यहाँ दुई थरिका ढुङ्गा जोड्दैछु, एउटा ढुङ्गा चरालाई लाग्छ अनि चरा ढल्छ, अर्को ढुङ्गा सडकमा लाग्छ अनि सत्ता ढल्छ। हरेक ढुङ्गाहरुमा कैदको आवेग छ, कैदको अन्त छ अनि कैदको शुरुवात छ, मुख्यता हरेक ढुङ्गामा पिँजडाको जोखिम छ अनि एउटा कथा छ,' 'कथाकार'ले भने। कथाकार हाम्रो पात्रोको लोकप्रिय अडियो पोडकास्ट सिरिजका कथाकार हुन्। उनले कथा भन्ने श्रृंखला रोकेर गीत लेखनतर्फ लागेका हुन्।
'यो गीत पहिलो पटक मैले कथाकार दाइबाट प्राप्त गर्दा यो प्रश्नवाचक अभिव्यक्तिमा लेखिएको शब्द च्यालेञ्जिङ छ भन्ने कुरामा म तयार थिएँ। दाइलाई गिटारको ट्यूनमा लय भरेर पठाएँ वहाँले मन पराउनुभो। तर जब हाम्रा साउन्ड डिजाइनर शार्दूल श्रेष्ठसँग कामगर्न बसेँ उहाँले 'दाई यो गीतलाई एकापेलामा गरौं' भन्ने सल्लाह दिनुभयो। यो अर्को चुनौति थपियो,' गायक अधिकारीले भने 'तर जब हामी तीन जना 'सकिन्छ' भन्ने निष्कर्षमा पुगेपछि ३ हप्ताको समयमा 'पिँजडाको चरा' तयार भयो।
भिडियो
यस्ता छन् एकापेला 'पिँजडाको चरा'का शब्द
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?
अज्ञात अचेत सब लम्पसार परेर
घमण्ड तेरो कता छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?
कता गए तेरा प्रतिद्वन्द्वी सबै
कोसँग जोतिदों होस् अहिले?
कसको भाषा बोल्छस दिलदार बनेर
उदण्डता तेरो कता छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?
कसरी बाँच्दो होस् आफ्नै पिँजडामा
बाटो फराकिलो पार्न गुँड उजाडिस् तैंले
जलचर, जीवको बाटोवार गरेर
यत्रो कंक्रिट जङ्गलको भन के काम छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले?
यो धर्तीको सुवास बदल्ने यात्रालाई विकासको नाम दिंदै गयौं
यही धर्तिको बित्ता-बित्ताको ऋणी तर आधूनिक बन्ने होडमा
हामीले धर्तीलाई धेरै सुनायौं, धेरै चलायौं
अब धर्तिको सुनौं, चुप लागेर धर्तिको सुनौं।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।