काठमाडौं- पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ स्थित सोतीमा ६ जनाको ज्यान लिने गरी भएको घटनामा संलग्न भएको आरोपमा जिल्ला अदातल रुकुममा ३४ जना विरुद्ध मुद्दा दर्ता भएको छ। आइतबार चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहितका ३४ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको रुकुम पश्चिम प्रहरीका डिएसपी ठगबहादुर केसीले नेपाल लाइभलाई जानकारी दिए।
उनीहरूमध्ये केहीलाई कर्तव्य ज्यान, केहीलाई ज्यान मार्ने उद्योग र केहीलाई भने जातीय भेदभाव तथा छुवाछुतको मुद्दा दर्ता गरिएको हो। प्रतिवादी बनाइएका मध्ये ५ जना भने फरार रहेको समेत उनले बताए।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।
तल्लो जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरूको विवाह अस्वीकार गरेपछि १९ जना युवा‚ केटीलाई लिन केटीको गाउँ गएपछि स्थानीयले घेरा हालेर लखेटेका थिए। यसरी लखटिएका १२ जना घाइते भए। ६ जनाको भने मृत्यु भएको थियो।
यसअघि नवराज विकसहित चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनारको शव भेरी नदीमा भेटिएको थियो। उनीहरूको हत्या भएको र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभर विरोध भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।