काठमाडौं- व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मल खोल्ने निर्णय गरेका छन्। सरकारले सपिङ मलहरु तत्काल नखुलाउने निर्णय गरेपनि व्यवसायीहरुले भने लामो समय बन्द हुँदा समस्या बढ्दै गएको भन्दै खुल्ला गर्ने निर्णय गरेका हुन्।
आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, सिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरु सञ्चालन गर्ने तयारी गरिएको व्यवसायीहरुले जानकारी दिएका छन्।
लकडाउन लम्बिँदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरुले मलहरु सञ्चालन गर्न लागेका हुन्।
जनस्वास्थ्यको जोखिम भएको अवस्थामा काममा फर्कनुपर्ने रहर नभई बाच्नको लागि सपिङ मल खुला गर्नुको विकल्प नभएको बताएका छन्। उनीहरुले सरकारले अन्य पसलहरु सञ्चालन गर्न दिने तर सपिङ मल सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड-१९ बाट बच्न स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरु खोल्ने निर्णय गरेका हुन्।
व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।