रसुवा- विगत वर्षदेखि निर्माण सुरू भएको खानेपानी योजना पूरा गरिदिन सर्स्यूँ गाउँबासीले माग गरेका छन्। नौकुण्ड गाउँपालिका- ६ सर्स्युँ र दारघारी गाउँका १७९ घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्न परिवर्तन नामक गैससले चार वर्षअघिदेखि निर्माण शुरू गरेको काम अधुरो अवस्थामा छाडिदिँदा खानेपानीको समस्या भएको स्थानीय उपभोक्ताले माग गरेका हुन्।
परिवर्तनले जुरे ढुङ्गाको फेदको गलाङ्घुमी मुहानबाट पङ्दोम्राङसम्म पानी पुर्याए पनि त्यहाँबाट गाउँसम्म एक किलोमिटर दूरीको काम अधुरै छाडिएको छ। कालिकास्थानबाट पूर्वतर्फ रहेको सर्स्युँ एवं दारघारी भूभागमा छरिएर रहेका बस्तीका बासिन्दालाई सुख्खा मौसममा पानीको समस्या परिरहेको छ।
विसं २०३६ मा रसुवा नुवाकोट ग्रामीण विकास परियोजनाअन्तर्गत ग्रामीण बस्तीमा खानेपानी व्यवस्था गर्ने कार्ययोजनानुरूप रसुवाकै इतिहासमा पहिलो पटक सर्स्युँमा पोलिथिन पाइप बिच्छ्याई पानीको व्यवस्था भए पनि जनसङ्ख्याको वृद्धिदरसँगै थप धाराको आवश्यकता भएको समाजसेवी पासाङ तामाङले बताए।
४१ वर्ष पहिले नुवाकोट बगुवा बजार निवासी तत्कालीन ओभरसियर (हाल इञ्जिनीयर) रामप्रसाद रिमालले दिएको प्राविधिक ज्ञानबाट गुणस्तरीय तवरले निर्माण भएकै कारण अहिलेसम्म पहिलो योजनाले थोरबहुत खानेपानीको सुविधा दिइरहेको भए पनि जनसङ्ख्याको चापले दिनप्रतिदिन पानी अपुग हुँदै गएकाले थप खानेपानी व्यवस्थापन छिटो सम्पन्न गरिदिन ज्येष्ठ नागरिकले समेत आग्रह गरेका छन्। सर्स्युँ दारघारी खानेपानी योजना अधुरो अवस्थामा छाड्ने संस्थासँग समन्वय गरी योजना पूरा गराइने जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।