दमौली– तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) विहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली आइपुगेका छन्।
गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आएका हुन्। उनले सोमबारदेखि नै कार्यभार सम्हालेका छन्।
तत्कालिन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भइ राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँ गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन थियो। प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने सार्वजनिक अपराध, हातहतियार खरखनाजा, कालोबजारसम्बन्धी लगायतका मुद्दाको फैसला गर्ने काम प्रभावित हुँदै आएको थियो।
कार्यभार सम्हाल्दै प्रजिअ शर्माले तनहुँको शान्ति सुव्यवस्था, सुशासन र समृद्धिमा जोड दिने बताए।
‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको चाहना भएकाले त्यसैलाई पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने प्रजिअ शर्माले स्पष्ट पारे। तनहुँवासीको साथ र सहयोग पाए जिल्लालाई शान्ति र समृद्धिमा अगाडि बढाउन आफू सफल हुने दाबीसमेत उनले गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।