फोटोः एएनआई
काठमाडौं- भारतीय सेना प्रमुख एमएस नरवणेले नेपाल र भारतका बीचमा प्रगाढ सम्बन्ध भएको बताएका छन्। केही समयअघि कसैको इशारामा नेपालले नक्सा जारी गरेको टिप्पणी गरेका नरवणेले नै प्रगाढ सम्बन्ध भएको स्मरण गरेका हुन्।
चीन र नेपालसँग चलिरहेको सीमा विवादबारे बोलेर विवादमा परेका उनले विगतको अभिव्यक्ति सच्चिने गरी पुनः बोलेका छन्। यसअघि चीनको उक्साहटमा लागेर नेपालले सीमा विवाद झिकेको आशय दिने अभिव्यक्ति दिएपछि नेपालमा मात्र नभएर भारतमै पनि नरवणेको आलोचना भएको थियो।
यसपटक उनले नेपालसँगको सम्बन्धलाई लिएर भारत संवेदनशील र नरम रहेको बताएका छन्।
शनिबार देहरादूनमा इन्डियन मिलिट्री (आईएमए)को पासिङ आउट परेडमा भाग लिन पुगेका नरवणेले नेपाल र भारतबीचको सम्बन्ध बलियो र प्रगाढ रहेको बताए।
‘दुई देशबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध छ’, उनले भने, ‘हामी आपसमा जोडिएका छौं। आगामी दिनमा पनि यो सम्बन्ध प्रगाढ नै रहन्छ।’
उनको भनाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘नेपालसँग भौगोलिक, सांस्कृतिक , धार्मिक सम्बन्ध जनतासम्म रहेको छ।’
उनले चीन र भारतको सीमामा अहिले स्थिति पूर्णतः नियन्त्रणमा रहेको पनि बताए। ‘म लगातार सम्पर्कमा छु। कोर कमाण्डर स्तरमा कुराकानी भएको छ र स्थानीय स्तरमा समकक्षी स्तरमा बैठक भइरहेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।