नेपालगञ्ज- बाँकेमा शनिबारबाट रासायनिक मलको बिक्री वितरण प्रक्रिया सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लाका कृषकका लागि मलखादको बिक्री वितरण प्रक्रिया सुरु गरेको हो।
सो कम्पनीले ठेकेदारमार्फत भैरहवाबाट मल नेपालगञ्ज भित्र्याएको छ। कम्पनीका नेपालगञ्ज प्रमुख रमेश पौडेलले ७३ मेट्रिकटन युरिया र ९७ मेट्रिक टन डिएपी कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएकाले वितरण प्रक्रिया सुरु गरिएको जानकारी दिए।
धानखेतीका लागि अझै दुई हजार ४०० मेट्रिक टन युरिया र ७०० मेट्रिक टन डिएपी आवश्यक रहेको उनले बताए। लकडाउनका कारण कोलकातामा अलपत्र परेको १२ हजार ५०० मेट्रिक टन डिएपी भित्र्याउने प्रक्रिया सुरु भइसकेकाले अबको एक हप्ताभित्र नेपालगञ्ज पुगिसक्ने जनाइएको छ। युरिया मल भने भारतको गुजरातमै रहेकाले आयातमा अझै समय लाग्ने बताइएको छ। शाखा प्रबन्धक पौडेलका अनुसार बाँकेमा वार्षिक ६ हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी आवश्यक पर्छ।
जिल्लाका किसानलाई मल बिक्री वितरण गर्न दामासाहीका आधारमा सहकारीलाई जिम्मा लगाइएको शाखा प्रबन्धक पौडेलले जानकारी दिए। बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेडसँग आवद्ध १२० सहकारीमार्फत मल बिक्री हुँदै आएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनले ६६ सहकारीमार्फत मल वितरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।