गलेश्वर- म्याग्दीमा शुक्रबार थप एक जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ। एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मङ्गला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षीय पुरुषलाई डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।
बिरामीको ट्राभल हिष्ट्री नभएकाले ग्रामीण क्षेत्रमै डेङ्गी फैलिने एडिस जातको लामखुट्टे सक्रिय रहेकाले सचेत हुनुपर्ने सुवेदीको भनाइ छ। योसँगै वैशाख र जेठ महिनामा मङ्गला गाउँपालिकामा चार जनामा डेङ्गी पोजेटिभ देखिएको छ भने जिल्लाभर सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ। बेनी अस्पतालमा छिमेकी जलजला गाउँपालिकाबाट समेत उपचारका लागि आएकी एक वृद्धामा डेङ्गी देखिएको थियो। वैशाख ९ गते पहिलो डेङ्गी सङ्क्रमित अर्मनका १७ वर्षीय युवामा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको थियो।
गत वर्ष म्याग्दीमा १२ मा डेङ्गी र एक जनामा स्क्रब टाइफसका देखिएको थियो। डेङ्गी ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग हो। यो एक बिरामीबाट अर्को बिरामीमा सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ।
म्याग्दी देशरभरमै डेङ्गी सङ्क्रमण फैलिने जिल्लामा रुपन्देही दोस्रो स्थानमा छ भने गण्डकी प्रदेशका ११ जिल्ला पहिलो स्थानमा छन्। स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणमा डेङ्गी सार्ने लामखुट्टे बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा अत्यधिक भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।