काठमाडौं– कतारमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन १६ जुन ( असार २ गते) देखि सुरु गरिने भएको छ।
कतारस्थित नेपाली दूतावासका अनुसार पहिलो उडान नेपाल एयरलाइन्समार्फत नेपालीहरु असार २ गतेदेखि स्वदेश फर्काउन सुरु गरिने भएको हो।
कतारबाट दोस्रो उडान हिमालय एयरलाइन्समार्फत १७ जुन (असार ३ गते) का लागि तय गरिएको छ। तेस्रो, २० जुन अर्थात असार ६ गते नेपाल एयरलाइन्स र चौथो २२ जुन (असार ८ गते ) गरी पहिलो ४ वटा उडानहरु तय गरिएका छन्।
कतारबाट पहिलो चरणमा स्वदेश फर्काउनेहरुको सूची दूतावासले शुक्रबार सार्वजनिक गरेको छ।
दूतावासले सार्वजनिक गरेको सूचीअनुसार कतारबाट तत्काल स्वदेश फर्काउनुपर्नेहरुको संख्या ५ हजार १ सय १४ रहेको छ।
उक्त सूचीमध्ये पनि प्राथमिकताका साथ पहिलो उडानमार्फत जहाजको यात्रु क्षमताअनुसार स्वदेश फिर्ती गरिने उल्लेख गरिएको छ।
हवाई टिकटको मूल्य यसअघि ५०० अमेरिकी डलर तोकिएको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो मूल्यमा हेरफेर गरी कतारबाट नेपाल फर्कन ४५० अमेरिकी डलर अर्थात करिब ५४ हजार नेपाली रुपैयाँ कायम गरेको छ।
राजदूतावासले उल्लेखित सूचीबाट निम्न बमोजिम प्राथमिकताको आधार तय गरेको छः
• आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने
• सुत्केरी तथा गर्भवती महिला
• कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका
• बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति
• अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत
• पारिवारिक पुनर्मिलनका लागि आएका
• पर्यटक तथा व्यापारिक भिसामा आएका
• श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका
• कतार आइडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका
• बेतलबी बिदामा रहेका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।