काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गरेकी छन्। त्यस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेतृत्वमा भएको बेला केही नयाँ बनाएर जानुपर्ने बताइन्। भावी पुस्ताले पनि त्यसलाई निरन्तरता दिनेगरी अहिलेको नेतृत्वले काम गर्नुपर्ने उनको भनाइ थियो।
लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले केही निर्णय गरेको भन्दै मन्त्री अर्यालले कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भिडभाड कम गरेर सञ्चालन गर्न मन्त्री अर्यालले निर्देशन दिइन्।
मन्त्री अर्यालले भनिन्, ‘कार्यालयमा भिडभाड कम गर्नका निम्ति दुई सिफ्टको प्रणाली लागू गरेर कार्यालय सञ्चालन गर्नुस्।’
कोरोनाले नयाँ चुनौती थपेको भन्दै उनले अहिले धेरै मान्छेहरु विदेशबाट स्वदेश फर्किएकाले ती मान्छेहरुलाई पनि सहकारीमार्फत रोजगारी दिन सकिने बताइन्। ‘अहिले परिस्थिती फेरिएको छ। कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फर्किएका छन्। ती मानिसहरुलाई पनि रोजगारी दिनुपर्ने अवस्था छ’, उनले भनिन्, ‘हामीसँग रहेको यत्रो सहकारीमार्फत धेरैलाई रोजगारी दिन सक्छौं? त्यसको आंकलन गर्न जरुरी छ।’
ठूलो संख्यामा रहेको सहकारीको अनुगमन सरकारले गरिरहेको भएपनि त्यो अत्यन्त न्यून रहेकाले त्यसको प्रभावकारिता थप वृद्धि गर्न के गर्ने भन्ने सन्दर्भमा पनि सोच्न जरुरी रहेको मन्त्री अर्यालले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।