काठमाडौं– लामो समयदेखि विदेशमा नेपालीका शव थुप्रिँदै गएका छन्। विदेशमा रहेका शवहरुको अवस्थाबारे गतहप्ता वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मलेसिया खाडीलगायतका मुलुकमा १७३ वटा शवहरु अलपत्र अवस्थामा थिए।
एकहप्ताभित्र मात्रै १६ वटा शव थपिएका छन्। शुक्रबार (आज) सम्म मलेसिया, कतार, साउदी, युएईलगायत मुलुकमा अलपत्र शवको संख्या १८९ पुगेको बोर्डले जनाएको छ।
सबैभन्दा बढी साउदीमा ६४ शव अलपत्र छन्। मलेसियामा ५४, कतारमा ३१, युएईमा १६, कुवेतमा १५, बहराइनमा ४, दक्षिण कोरियामा १ र अन्य विभिन्न मुलुकमा ४ वटा शवहरू अलपत्र अवस्थामा रहेको बोर्डले जनाएको छ।
सरकारले पनि विदेशमा अलपत्र अवस्थामा रहेको शव जहाज चार्टरमार्फत स्वदेश ल्याउने निर्णय गरिसकेको छ। सो निर्णयसँगै यसअघि असार २३ गते शुक्रबार एयर अरेबियामार्फत युएईबाट स्वदेश फर्किएका १६८ नेपालीसँगै एउटा शव समेत ल्याइको थियो। तर बाँकी महिनौंदेखि अलपत्र अवस्थामा रहेका शवहरू स्वदेश ल्याउने प्रकृया अझै अगाडि बढ्न सकेको छैन।
वैदेशिक रोजगार बोर्डले विदेशमा अलपत्र शवहरू ल्याउन पहल भइरहेको जनाएको छ। कोरोनाका कारण विदेशमा ज्यान गुमाएकाहरूको भने सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिने उल्लेख गरिएको छ। त्यस्तै परिवारबाट सहमति प्राप्त भएमा अन्य कारण ज्यान गुमाएर अलपत्र अवस्थामा रहेका शवको अन्त्येष्टि गर्न समेत बोर्डले सहजीकरण गर्दै आएको छ।
हालसम्म सम्बन्धित मुलुकमै अन्त्येष्टि गर्न ९७ शवको लागि अनुमति प्राप्त भएको बोर्डले जनाएको छ। कोरोनाका कारण मृत्यू भएका तथा विदेशमा अन्त्येष्टिका लागि सहमति प्राप्त भएका मृतकका आफन्त बाहेक अन्य मृतकका आफन्तले बोर्डमा सम्पर्क गर्न बोर्डले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।