काठमाडौं- कोरोना बीमा गर्नेमध्ये चार जना संक्रमितले दाबी गरेका छन्। दाबी गर्नेमध्ये दुई जनाले दाबी भुक्तानी पाएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। नेको इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरिसकेका छन्।
राष्ट्रिय बीमा कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीमा पनि कोरोना बीमा गर्ने संक्रमितले दाबी गरेका छन्। दुवै संक्रमितिले एक लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन्। बीमा समितिले जारी गरेको कोरोना बीमा पोलिसी खरिदकर्ताले कोरोना संक्रमण पुष्टि हुने बित्तिकै दाबी भुक्तानी पाउने व्यवस्था छ।
नेको इन्स्योरेन्सले कृषि विकास बैंकमा काम गर्ने गुल्मी घर भएकी एक महिलालाई दाबी भुक्तानी गरेको छ। त्यस्तै हिमालयनले भरतपुर अस्पतालमा काम गर्ने डाक्टरलाई दाबी गरेको हो।
बीमा कम्पनीले चार लाखभन्दा धेरैको कोरोना बीमा गरिसकेका छन्। कम्पनीहरूले कोरोना बीमाबाट २३ करोड रुपैयाँभन्दा धेरै बीमा शुल्क आर्जन गरेका छन्।
महामारी फैलिँदै गयो भने पहिलो चरणमा बीमका कम्पनीहरूको पुल मार्फत एक अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी गर्न सक्नेछन्। एक अर्बभन्दा माथिको दाबी पर्यो भने पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँको दाबी भुक्तानी गर्नेछ। तेस्रो चरणमा बीमा कम्पनीहरूको सामुहिक कोषबाट ५० करोड रुपैयाँ भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
योभन्दा माथिको दाबी भुक्तानी हुने अवस्था आएमा नेपाल सरकारसँग सहयोगको आह्वान गर्ने कार्यकारी निर्देशक पौडेलले बताए। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सम्पुर्ण नेपालीको कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ। त्यस्तै राष्ट्र सेवक कर्मचारीहरूको एक लाख रुपैयाँको कोरोना बीमा गर्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।