शिक्षा तथा स्वास्थ्य समिति बैठकको फाइल तस्बिर
काठमाडौं- शिक्षा तथा स्वास्थ्य समितिले सामुदायिक माध्यमिक विद्यालयको पूर्ण जिम्मा सरकारले लिनु पर्ने बताएको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको छलफलले यस्तो निर्णय गरेको हो।
सार्वजनिक शिक्षा राज्यको जिम्मेवारी हो भन्ने कुरा संविधान र कानूनहरुले नै प्रष्ट बनाएको छ, त्यसैले सामुदायिक विद्यालयको लागि स्रोत साधन उपलब्ध गराउने, गुणस्तर वृद्धि गर्ने, भौतिक पूर्वाधारको सुनिश्चित गर्ने लगायत सम्पूर्ण दायित्व सरकारको नै भएकोले सामुदायिक माध्यमिक विद्यालयको पूर्ण जिम्मा सरकारले लिनु पर्ने समितिको ठहर छ।
कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षको लागि एसइई परीक्षा संचालन नगर्ने निर्णयको पनि समितिले स्वागत गरेको छ।
संविधान र कानूनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकोले यस वर्षको लागि स्थगित भएको एसइई परीक्षालाई सधैँको लागि हटाएर कक्षा १०, कक्षा ११ का परीक्षाहरु स्थानीय तहबाट संचालन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको परीक्षा हुने गरी आवश्यक कानूनी व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको छ।
कोरोना संक्रमणको कारणले विद्यालय तथा विश्वविद्यालयमा नियमित पठनपाठन अवरुद्ध रहिरहेकोले हालको परिस्थितिमा सिकाइको निरन्तरताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको कार्यविधी माथि समितिको छलफलमा सांसदहरुले विभिन्न सुझाव समेत दिएका छन्।
-अति विपन्न परिवारका विद्यार्थीहरुलाई प्राथमिकतामा राखी यो समूहको विद्यार्थीहरुको सिकाइको निरन्तरता सुनिश्चित गर्नु पर्ने।
-फरक क्षमता भएका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गर्नुपर्ने।
-सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइको सम्बन्धमा प्रभावकारी र निरन्तर अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने।
-सामुदायिक विद्यालयलाई सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन प्रविधि, पूर्वाधार र जनशक्ति तालिमको व्यवस्था गर्नुपर्ने र कार्यक्रमहरु संचालन गर्नको लागि आर्थिक श्रोतको समेत सुनिश्चितता गर्नु पर्ने।
-सामुदायिक विद्यालयहरुमा प्रविधिको दिर्घकालिन व्यवस्था गर्नुपर्ने।
-पठनपाठन सिकाईमा सामुदायिक र नीजि स्कूललाई एकरुपतामा लैजानु पर्ने।
यसैगरी समितिले बाल विकासमा कार्यरत शिक्षक र कर्मचारीहरुलाई सरकारले निर्धारण गरे बमोजिमको न्यूनतम पारिश्रमिक उपलव्ध गराउनु पर्ने समेत निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।