काठमाडौं– कोरोना भाइरसका कारण ओमानमा अप्ठ्यारोमा परेका नेपालीहरु स्वदेश फर्काउन सरकारले ५१० अमेरिकी डलर अर्थात ६१ हजारभन्दा बढी नेपाली रुपैयाँ भाडा दर निर्धारण गरेको छ।
यो भाडा ओमानस्थित नेपाली दूतावासले जहाज चार्टर गरेर नेपालीहरुलाई पठाउने भाडाभन्दा करिब २६ हजारले बढी हो।
दूतावास सलाम एयर चार्टरमार्फत २९९ अमेरिकी डलर अर्थात करिब ३५ हजार नेपाली रुपैयाँमा स्वदेश फर्काउने भएको छ।
कुवेतमा अप्ठ्यारोमा परेका ३६० नेपालीहरुलाई १५ जुन (असार १ गते) र २१ जुन (असार ७ गते) स्वदेश पठाइने दूतावासले जनाएको छ।
दूतावास स्रोतका अनुसार १५ जुनमा ओमानबाट १८० नेपाली स्वदेश फर्काइने छ। २१ जुनमा पनि १८० नेपाली फर्काइने छ।
किन भयो सरकारको भाडा महंगो?
अप्ठ्यारो परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले निर्धारण गरेको भाडा दूतावासले व्यवस्था गरेको भन्दा महंगो भएपछि दूतावासले सलाम एयरमार्फत सस्तो दरमा नेपालीहरुलाई स्वदेश फर्काउने तयारी गरेको छ।
‘हामीले अप्ठ्यारोमा परेकाहरुलाई स्वदेश फर्काउन केही समय अगाडिदेखि ओमान सरकार तथा एयरलाइन्सहरुसँग कुरा गरिरहेका थियौं। जसले गर्दा भाडा त्यति महंगो परेन’, दूतावास स्रोतले नेपाल लाइभसँग भन्यो।
सरकारले एयरलाइन्ससँग उचित समन्वय गर्न नसक्दा भाडा महंगो परेको हुन सक्ने स्रोतको बुझाई छ।
दूतावासले व्यवस्था गरेको भाडाभन्दा सरकारले तय गरेको भाडा अत्याधिक महंगो भएपछि नेपाली श्रमिकहरुलाई सहज हुने गरी सलाम एयरमार्फत नेपालीहरु स्वदेश फर्काइने निर्णय गरिएको स्रोतको भनाई छ।
खुसी छन् नेपाली
सरकारले निर्धारण गरेको भाडाभन्दा दूतावासले व्यवस्था गरिदिएको भाडा सस्तो भएपछि नेपाली श्रमिकहरु समेत खुसी भएको दूतावासले जनाएको छ।
उनीहरु सम्बन्धित मुलुकमा नै पिसीआर समेत परीक्षण गरेर स्वदेश फर्कने भएका छन्।
‘पिसीआर परीक्षण गरेपछि होम क्वारेन्टाइनमै बस्न मिल्ने भएपछि उहाँहरु सबैजना पिसीआर परीक्षण गराएर स्वदेश फर्कन समेत राजी हुनु भएको छ’, दूतावास स्रोतले भन्यो, ‘परीक्षण शुल्क व्यक्ति आफैंले बुझाउन परे पनि हामीले सुलभ रुपमा पिसीआर परीक्षणका लागि कुरा राखेका छौं।’
सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु स्वदेश फर्काउन सुरु गरिसकेको छ। कतिपय मुलुकले आफ्नै खर्चमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई नेपाल ल्याइदिन थालेका छन् भने कतिपय मुलुकबाट आफैं खर्च व्यहोरेर नेपालीहरु स्वदेश फर्किएका छन्।
सरकारले अप्ठ्यारोमा परेका नेपालीहरुलाई विमान चार्टर गरेर स्वदेश फर्काउन भाडा निर्धारण गरेको छ। तर सरकारले निर्धाण गरेको भाडादर दोब्बर/तेब्बरसम्म महंगो भएको भन्दै सरकारको आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।