फाप्लु- जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ। अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट पूर्णरूपमा सञ्चालन भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए।
अस्पतालका अनुसार बिहीबार पहिलो दिन ओपिडीमार्फत ३५ बिरामीले सेवा लिएका छन्। कोरोना पोजेटिभ देखिएका युवाको सम्पर्कमा रहेका कारण अस्पतालका स्वास्थयकर्मी क्वारेन्टाइनमा बसेका थिए। अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको कोरोना पिसिआर रिपोर्टसमेत नेगेटिभ आएको छ।
सोलुखुम्बुका पहिलो कोरोना सङ्क्रमित निको भए
सोलुखुम्बुका एकमात्र कोरोना सङ्क्रमित युवा निको भएर घर फर्किएका छन्। विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवा निको भएर बिहीबार घर फर्किएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिए।
करिब १४ दिनकोे उपचारपछि पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। यद्यपि उनलाई केही दिन भने होम क्वारेन्टाइनमा नै राखिनेछ। गत जेठ १५ गते सङ्क्रमण पुष्टि भएर उपचारका लागि विराटनगर लगिएको थियो। उनीसँगको सम्पर्कमा रहेका घरपरिवार, स्वास्थ्यकर्मीसहित ५० जनाको पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।