काठमाडौं- भारतीय राष्ट्रिय कांग्रेसले नेपालसँगको सीमा विवाद तत्काल वार्तामार्फत समाधान गर्न माग गरेको छ। भारतीय कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभा नेता आनन्द शर्माले एक विज्ञप्ति जारी गर्दै नेपाल–भारत सम्बन्धको महत्व र संवेदनशीलतालाई ख्याल राख्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन्।
भारत र नेपालबीचको सीमा विवादलगायतका समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र हुँदा हुँदै पनि अहिलेको अवस्था आउनु दुःखद भएको नेता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ। दुई देशबीचको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धमा दरार आएकाले तत्कालै सम्बोधन हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ।
‘भारतले सधैं नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको र दुई देशले करिब ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको बाँकी रहेका छ ’ विज्ञप्तिमा भनिएको छ ‘सीमा विवाद पनि आपसी समक्षदारी र मित्रताकै आधारमा कूटनीतिक वार्ता र सम्झौतामार्फत नै समाधान हुनुपर्नेमा भारतीय कांग्रेस अडिग छ।’
मार्चमा भारतले नयाँ नक्सा जारी गरेको र पछिल्लो समय मानसरोवर जानका लागि नेपालसँग सम्र्पकै नगरी वाटो उदघाटन गरेपछि दुई देशका विचमा तनाव उत्पन्न भइरहेको छ । नेपालले दुई पटक भारतलाई कुटनीतिक नोट पठाएको छ । तर भारतले कोरोना भाइरसको महामारीपछि वार्ता गर्ने प्रस्ताव गरेको थियो । तर नेपालले यति लामो समयसम्म कुर्न नसक्ने भन्दै आएको छ ।
अहिले नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । यस नक्सालाई निशान छापमा राख्नका लागि संविधान संशोधनको प्रक्रिया चलिरहेको छ । संविधानमा संशोधनमा सम्पूर्ण राजनीतिक दलले सहमति जनाएका छन् ।
शनिवार यो विधेयक संघीय संसदको तल्लो सदन प्रतिनिधि सभावाट पास हुदै छ । राष्ट्रिय सभा हुदै यसले संविधानको अङ्ग बन्न लागेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।