काठमाडौं- नेपाल सरकारले असार एक गतेदेखि आंशिक रुपमा लकडाउन खुला गर्ने निर्णयमा शेयर बजार नपरेपछि धितोपत्र बोर्डले अर्थमन्त्रालयसँग छलफल गर्ने भएको छ। सरकारले असार एक गतेदेखि बैंक, बीमा, सहकारी संस्थाहरू पूर्ण रुपमा खुला गर्ने निर्णय गरे पनि सेयर बजार खुला गर्ने विषयमा केही पनि निर्णय गरेको छैन। वैशाख २४ गते लकडाउन खुकुलो बनाउने निर्णय गर्दा धितोपत्र बजार पनि उल्लेख थियो।
सरकारले लकडाउन खुला गर्ने विषय उल्लेख नगरेको हुँदा अर्थमन्त्रालयसँग छलफल गरिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए। उनले भने‚ ‘सरकारको निर्णयमा धितोपत्र बजार उल्लेख नभएको हुँदा अर्थमन्त्रालय, सरोकारवाला पक्षहरूसँग छलफल गरेर केही दिनमा निर्णय गर्छौ’ उनले थपे‚ ‘बजार खुल्न अझै केही समय लाग्छ।’
सरकारले बैंक तथा वित्तीय संस्था र नीजि सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था गरेसँगै सेयर बजार पनि खोल्नुपर्ने ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए। बजार खोल्नका लागि नेपाल धितोपत्र बोर्ड सँग छलफल गरिने उनले बताए।
नेपाल स्टक एक्सचेन्जले जेठ ३२ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको छ। सरकारले असार ३२ गतेसम्म पूर्ण रुपमा लकडाउन गरेको हुनाले नेप्सेले पनि बजार बन्द गर्ने सूचना जारी गरेको हो। वैशाखमा दुई दिन बजार खुला गरेर बन्द गर्नुपरेको अवस्थालाई मूल्याङकन गर्दै बोर्ड तत्काल बजार खुला गर्ने पक्षमा छैन।
गत वैशाखमा भएको दुई दिनको कारोबारमा नकारात्मक सर्किट लागेको हुनाले लगानीकर्ता तथा ब्रोकरहरू बजार खोल्ने आवाज उठाइरहेका छैनन्।
बजार खोलेर घट्नुभन्दा बरु नचलेको राम्रो भन्दै उनिहरूले बजार नखोल्न दबाब दिँदै आएका छन्। लगानीकर्ताका संघ संगठन नै बजार बन्द गर्ने पक्षमा उभिएका थिए। असारमा आंशिक रुपमा लकडाउन खुला भयो भने बजार खोल्नु पर्ने बाध्यता रहन्छ।
अर्कोतर्फ बन्द भएको शेयर बजार खुला गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। केही लगानीकर्ता बजार खुला गर्नुपर्ने पक्षमा छन्। तर बजार घट्ने डरमा रहेका लगानीकर्ता भने बजार खुला गर्न नहुने पक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।