काठमाडौं- सुदूरपश्चिम प्रदेशमा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको प्रकोप र त्यसले अर्थतन्त्रमा पारेको प्रभावबारे जानकारी लिन उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टको नेतृत्वमा एक उच्चस्तरीय टोली प्रदेश राजधानी धनगढी पुगेको छ।
राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, उद्योग सचिव चन्द्र कुमार घिमिरेलगायत मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्यमीहरूको प्रवर्द्धनमा सहकार्य गर्दै आएको युएनडिपीसहितको उच्चस्तरीय टोली बिहीबार धनगढी पुगेको हो।
राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले आयोगले हाल कोरोना महामारीले देशमा परिरहेको आर्थिक प्रभावबारे अध्ययन गरिरहेको सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा परेको आर्थिक सामाजिक असरबारे बुझ्न उक्त टोली धनगढी आइपुगेको बताए। भट्टका अनुसार उक्त टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेशका मन्त्रीहरू र विज्ञहरू छलफल गरेको छ।
भट्टले आगामी दिनमा कोरोना परीक्षण, उपचार एवं अन्य आवश्यकताको पूर्तीलाई अझै प्रभावकारी र सहज कसरी बनाउने भन्ने उद्देश्य उक्त भ्रमण टोलीको रहेको बताए। उक्त टोलीले कोरोनाले निम्त्याएको पूर्वाधार निर्माणमा समस्या, यातायात, रोजगारी, उद्यमशीलता, र समग्र अर्थतन्त्रमा परेको प्रभावबारे पनि जानकारी लिएको छ।
कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावबारेको अध्ययन आगामी असार महिनाभित्रै सकिनेगरी गरिरहेको योजना आयोगले जनाएको छ। अध्ययनपछि आयोगले तयार पार्ने प्रतिवेदनले आगामी दिनमा समग्र अर्थ व्यवस्थालाई कसरि अगाडि बढाउने भन्नेबारे सरकारलाई पृष्ठपोषण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।