प्युठान- प्युठान नगरपालिका- ७ मा क्वारेन्टाइनमा बसेकाहरुलाई सामाजिक मनोविमर्श परामर्श सेवा उपलब्ध गराइएको छ। क्वारेन्टाइनमा बसेकाहरुमा तनावको न्यूनीकरणका लागि सामाजिक मनोविमर्श परामर्श दिइएको नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए।
प्रावि टाकुराचौरमा रहेका दुई महिला सहित सबै २८ जनालाई सहभागी गराई बिहीबार पहिलो चरणमा दुई घण्टा परामर्श सेवा उपलब्ध गराइएको सचिव बर्माले बताए।
मनोसामाजिक विज्ञ शान्ति पण्डितले उपलब्ध गराएको परामर्श सेवामा तनाव न्यूनीकरणका विषयमा अपनाउनुपर्ने गतिविधिहरु, व्यायामहरु तथा खानपिनका विषयमा सचेत गराइएको थियो। यस्ता कार्यक्रमले प्रतिफल तत्काल तथा दीर्घकालसम्म दिने विज्ञ पण्डितले बताइन्।
दुई दिन पूर्व टिकुरी गाउँमा तथा देश तथा विश्वका विभिन्न ठाउँमा बस्नुहुने बासिन्दाको 'भर्चुअल मिटिङ' का क्रममा गाउँमा रहेका विज्ञहरुको सहयोगमा यस्तो कार्यक्रम सञ्चालन गर्ने सहमति बमोजिम यो कार्यक्रम गरिएको सहजकर्ता तथा बैंकर मेघराज पोख्रेलले बताए।
भारतबाट आई क्वारेन्टाइनमा बसेका सन्तोष कार्कीले मानसिक तनाव घटाउन यस्ता कार्यक्रमले मद्दत पुर्याउने भन्दै जिल्लाभर क्वारेन्टाइनमा परामर्श सेवा पुर्याउने आग्रह गरे।
विभिन्न समयमा भारतबाट आएकाहरुले परामर्शका क्रममा आफूहरुको आरडिटी नभई पिसीआर परीक्षण हुनपर्ने बताएको वडाध्यक्ष नेत्र केसीले बताए। 'कि त पिसीआर गर कि हामीलाई केही चेक गर्नुछैन, एक महिना यहीँ बसेर हामी निस्कन्छौं', सहभागीलाई उदृत गर्दै वडाध्यक्ष केसीले भने।
क्वारेन्टाइनमा बसेकाहरुलाई सामाजिक मनोविमर्श सम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको यो जिल्लाकै पहिलो कार्यक्रम भएको समेत वडाध्यक्ष केसीको भनाई थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।