काठमाडौं- संसदमा दर्ता भएको संविधान संशोधन विरुद्धको प्रस्ताव फिर्ता हुने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। ‘प्रस्ताव फिर्ता लिन पार्टीले लिखित स्पष्टीकरण सोधिसकेको छ,’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘प्रस्ताव फिर्ता लिन अझै तीन दिन बाँकी छ। उहाँ (सरिता गिरी) ले फिर्ता लिनुहुन्छ भन्नेमा विश्वस्त छु।’
सरकारले पेस गरेको संविधान संशोधन विधेयकमा पार्टीले एक ढिक्का भई मतदान गर्ने यादवले बताए।
यस्तै जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले प्रस्ताव फिर्ता नलिए कडा कारबाही गरिने चेतावनी दिए। ‘सार्वभौम सत्ता राष्ट्रिय अखण्डतामा जोडिएको विषयमा संविधान संशोधन हुँदै छ। हामी सबैले एक भएर संशोधनको पक्षमा उभिनु पर्ने छ,’ श्रेष्ठले भने, ‘यदि सरिता गिरीले प्रस्ताव फिर्ता नलिए पार्टीले कडा कारबाही गर्ने छ।’
नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको नक्सा राख्न सरकारले संशोधन प्रक्रियाअघि बढाएको छ। गिरीले नेपालको नयाँ नक्साका विषयमा फरक मत राख्दै संशोधन दर्ता गराएकी छन्। भारतलाई सोधेर मात्रै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्नुपर्ने उनको मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।