काठमाडौं- सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा भ्रष्टाचारी ठहर गरी कैद सजाय भोग्दै आएका नेपाल प्रहरीका पूर्व आइजिपी रमेशचन्द ठकुरी रिहा भएका छन्। तोकिएको सजाय भुक्तान गरिसकेकाले बिहीबार उनी रिहा भएको डिल्लीबजार कारागारले जनाएको छ।
नेपाल प्रहरीको संयुक्त राष्ट्र संघीय मिसनमा सुडानको डार्फरमा नेपाल प्रहरीका लागि बन्दोबस्ती सामान एपिसी खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको सहितको इजलासले उनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो।
सुडान घोटालामा पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए। सर्वोच्चले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई एक-एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
२०७६ असार १९ गते धरौटीमा कारागार बाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै पूर्व आइजी ठकुरीले दायर गरेको निवेदनलाई सर्वोच्चको पूर्ण इजलासले अनुमति दिन अस्वीकार गरेको थियो।
न्यायाधीशहरू आनन्दमोहन भट्टराई, पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलासले ठकुरीको निवेदनमा थप सुनुवाइका लागि अनुमति दिन अस्वीकार गरेको थियो।
त्यसपछि जेल चलान भएका उनी तोकिएको सजायभन्दा २० दिनअघि नै रिहा भएका हुन्। असल चालचलन भएकाले उनलाई २० दिनअघि नै रिहा गरिएको कारागार प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।