काठमाडौं– कुवेतबाट नेपाल फर्कन आममाफी पाएकामध्ये पनि महिलाले प्राथमिकता पाएका छन्। भोलि (बिहीबार) नेपाल फर्काइने ३ सय महिला नै आममाफी पाएर सेल्टरमा बस्दै आएका महिला भएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए।
‘आज हुने भनिएको उडान भोलिका लागि सरेको छ। जजिरा एयरको दुईवटा उडानमार्फत भोलि ३ सय नेपाली महिलाहरू स्वदेश पठाइनेछ’ राजदूत भण्डारीले नेपाल लाइभसँग भने।
बुधबार हुने उक्त उडान समय तालिका नमिल्दा रोकिएको बुझिएको छ। बिहीबारको उडान समय पनि खुलाइएको छैन। तर नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपाली लिएर आउने जहाजलाई दिउँसो ३ बजेपछि अवतरण अनुमति नदिने भनेसँगै ३ बजे अगावै अवतरण हुनेगरी उडान हुने अनुमान गरिएको छ।
कोरोना संक्रमणपछि श्रम गन्तव्य मुलुक कुवेतले अवैध रुपमा रहँदै आएका आप्रवासीहरूलाई आममाफी दिई जरिवाना समेत मिनाहा गरिदिएको थियो। उनीहरूलाई कुवेत सरकारले आफ्नै खर्चमा स्वदेश फर्काइदिने व्यवस्था गरेको थियो।
सो आममाफी कार्यक्रममा करिब ३ हजार नेपाली श्रमिकहरू सहभागी भएका थिए। करिब २ महिनाअघि आममाफी पाएका उनीहरूलाई जहाज चार्टर गरेर कुवेत सरकारले स्वदेश ल्याइदिने भने पनि नेपाल सरकारले उडान अनुमति नदिँदा उनीहरू कुवेतमै अड्किएका थिए। सेल्टरमा छुट्टै राखेर कुवेत सरकारले खाने बस्ने व्यवस्था मिलाएको थियो।
कुवेतबाट तत्काल उद्धार गर्नुपर्ने २ हजार ९ सय ९१ मानिस रहेको सरकारको सूचीमा उल्लेख छ। विदेशबाट फर्कँदा कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने उल्लेख गरिएको छ। आममाफी पाएकाहरूको कोरोना परीक्षण पनि कुवेत सरकारले गरिदिने दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।