काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गरिनु गणतान्त्रिक व्यवस्थाको विरोध हुनु भएको बताएका छन्। उनले गणतन्त्रको विरोध गर्नेहरुले घुमाउरो ढंगबाट राष्ट्रपति कार्यालयबाट हुने कामकारबाहीको विरोध गरिरहेको बताए।
उनले चुनौती दिए, ‘गणतन्त्रको विरोध गर्न मन लागे खुला गरे भो नि। किन गर्ने? राष्ट्रपतिमाथि किन खनिने? किन प्रहार गर्ने?’
उनले राष्ट्रपति कार्यालयको कार्पेट फेर्ने विषयमा विरोध भएकोतर्फ लक्ष्य गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘राष्ट्रपतिको कुुर्सी कसले किन्छ? राष्टपतिलाई थाहा हुन्छ? कार्पेट कहाँनेर राखियो राष्ट्रपतिलाई थाहा हुन्छ?’
राष्ट्रपतिलाई दलगत रुपले हेर्ने कुरा उचित नभएको भन्दै उनले त्यसलाई निष्पक्ष र मर्यादित संस्थाका रुपमा व्यवहार गर्न सुझाए।
गणतन्त्र ठिक होइन भन्ने कुरालाई यसरी प्रस्तुत गरिएको भन्दै विरोधको शैली सही नभएको प्रधानमन्त्रीले बताए। उनले भने, ‘जे-जे काम हुन्छ। त्यो दरबन्दीका कर्मचारी छन् त्यहाँ। राष्ट्रपति चुप लागेर बस्ने पद हो। उहाँ चुप लागेर बस्नुभएको छ। यो विरोधको जुन शैली छ, लोकतान्त्रिक भएन, गणतान्त्रिक पनि भएन।’
यस्ता विषय गणतन्त्र विरुद्ध केन्द्रित र लक्षित हुने भएकाले त्यस्ता कुरामा नबहकिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।