काठमाडौं- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ बसहियामा अवैध रुपमा रासायनिक मल ल्याउँदै गरेको तस्करको टोलीले प्रहरीमाथि आक्रमण गरेको छ। तस्कर टोलीलाई सोधपुछ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।
आइतबार साँझ करिब ५ बजेको समयमा उनीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले पनि जवाफी फायर गरेको छ।
प्रहरीले ४ राउन्ड हवाइ फायर गरेपछि तस्करहरू तितरवितर भएको सशस्त्र प्रहरी बल भैरमपुरले जानकारी दिएको छ। तस्करहरूको समूह अन्दाजी २ सय जना भएको प्रहरीको भनाइ छ।
सो तस्कर समूहले आक्रमण गर्दा प्रहरी पोष्टमा क्षति पुग्नुको साथै ६ जना प्रहरीसमेत घाइते भएको बताइएको छ। सो क्षेत्रमा थप मद्दतका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको प्रहरी जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।