काठमाडौं- यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुखसहित १३ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ। कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो।
नागरिक समाज इटहरीबाट यातायात व्यवस्था कार्यालय (सवारी) कोशीमा संकलित राजस्व हिनामिना भइरहेको समेतको व्यहोरा उल्लेख गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता हुन भएको उजुरीका आधारमा छानबिन गरी विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले उजुरीका सम्बन्धमा आव २०७३/०७४ को २०७३ चैतदेखि २०७४ आसार मसान्तसम्मको अनुसन्धान हुँदा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागज समेतको विवेचनाका आधारमा सेवाग्राहीहरूबाट संकलित राजस्व प्रचलित कानूनबमोजिम सम्बन्धित राजस्व खातामा दाखिला नगरी हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।
'राजस्व रकम हिनामिना गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी नोक्सानी पुर्याउने' देहायका कर्मचारीहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागदाबी गरी आइतबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले तत्कालीन कार्यालय प्रमुख नयराज नेपाल (यातायात व्यवस्था कार्यालय (सवारी) कोशी) १ करोड ८ लाख २९ हजार ६९ रूपैयाँ माग दाबी गरिएको छ। त्यसैगरी अर्का तत्कालीन कार्यालय प्रमुख तिर्थराज लम्सालविरूद्ध ३ करोड ३० लाख ७९ हजार ३ सय ७३, तत्कालीन कार्यालय प्रमुख गोपाल थपलियाविरुद्ध १ करोड ३० लाख ७२ हजार १ सय ५३ रूपैयाँ र तत्कालीन कार्यालय प्रमुख भुपेन्द्र राई ५६ लाख १२ हजार ५ सय ४७ रूपैयाँ माग दाबी गरिएको छ।
त्यस्तै तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारीविरूद्ध १ करोड २५ लाख ४८ हजार ६ रूपैयाँ, तत्कालीन लेखापाल सुरेश अधिकारीविरूद्ध ३ करोड ७२ लाख ४४ हजार ७ सय ५५ रूपैयाँ, तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालविरूद्ध ३ करोड ४८ लाख ९३ हजार २ सय १६ रूपैयाँ, तत्कालीन लेखापाल अर्जुन भट्टराईविरुद्ध २ करोड १७ लाख ३२ हजार ४७३ रूपैयाँ, तत्कालीन लेखापाल कृष्णप्रसाद कट्टेलविरूद्ध ७३ लाख ६२ हजार ४ सय ५५ रूपैयाँ माग दाबी गरिएको छ।
त्यसैगरी कम्प्युटर अपरेटर (करार) सुजन राईविरूद्ध २२ लाख ४४ हजार ३३६ रूपैयाँ, कम्प्युटर अपरेटर राकेश रोशन मस्राङ्गी मगर (फोकस वान नेपाल प्रा.लि) विरूद्ध ५ करोड ९४ लाख ९८ हजार ९ सय ३१ रूपैयाँ मागदाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा न्यून दाखिला भएको राजस्व सोही ऐनको सोही दफा बमोजिम असुल उपर गरी जफत हुने भनिएको छ।
त्यसैगरी कम्प्युटर अपरेटर रमेश पौडेलविरूद्ध ५ करोड ९४ लाख ९८ हजार ९३१ रूपैयाँ, कम्प्युटर अपरेटर भूमिराज अधिकारीविरूद्ध पनि ५ करोड ९४ लाख ९८ हजार ९३१ रूपैयाँ, कम्प्युटर अपरेटर हरिमदन ढुङ्गेलविरूद्ध ५ करोड ९४ लाख ९८ हजार ९ सय ३१, कम्प्युटर अपरेटर दिपेन्द्रकुमार मण्डलविरूद्ध १ लाख ४६ हजार ५ सय २६ रूपैयाँ, कम्प्युटर अपरेटर मैयाकुमारी चापागाईंविरूद्ध २२ लाख ४४ हजार ३ सय ३६ रूपैयाँ र कम्प्युटर अपरेटर रविन कुमार विश्वासविरूद्ध ४५ हजार ४ सय ६१ रूपैयाँ मागदाबी गरी मुद्दा दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।