काठमाडौं- एम्बुलेन्समार्फत लागुऔषध तस्करी हुने गरेको पाइएको छ। सर्लाहीको मलंगवा नगरपालिका-८ बाट ८ किलो अवैध लागूऔषध चरेस सहित ती युवक पक्राउ परेपछि सो कुरा बाहिरिएको हो।
प्रहरीले सुरुमा सोही ठाउँ बस्ने ३७ वर्षीय रामदुलर रायलाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा मोहन राय यादव र नथुनी ठाकुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। बयानमा रायले एम्बुलेन्समार्फत चरेस भारत तस्करी गर्न लागेको बताएका थिए।
त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले मलंगवा बजारबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको ज१च १४०७ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो।
एम्बुलेन्स चालक मोहन राय यादव समेतले एम्बुलेन्समा राखी ल्याई भारत पुर्याइदिनका लागि दिएको बताएपछि प्रहरीले चालक मोहन राय यादव र नथुनी ठाकुरलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो।
साथै प्रहरीले ज१च १४०७ नम्बरको एम्बुलेन्स समेत नियन्त्रणमा लिई तलासी लिँदा एम्बुलेन्समा लागुऔषध चरेस १ सय ३५ ग्राम समेत फेला पारेको छ।
यसैगरी सर्लाही, धनकौल गाउँपालिका-३ बागमती नदी छेउबाट नियन्त्रित लागुऔषध वालटेक्स २ सय ६९ पिससहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिरहा गोलबजार नगरपालिका-१ घर भएका ३४ वर्षीय सुनिल ठकुरी र बरहथवा नगरपालिका-५ हाथी डन्डा बस्ने २२ वर्षीय इन्दल राम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बलराबाट राजघाट शंकरपुरतर्फ जाँदै गरेको ज४प २०७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।