काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले बजेट निर्माणको प्रक्रिया पञ्चायत कालकै निरन्तरता भएको बताएका छन्। उनले संसदमा विनियोजन विधेयकमा बोलिएका कुराहरू कार्यान्वय नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। उनले भने, ‘मन्त्री ज्युहरूले एउटा कानले सुन्नुहुन्छ। अर्को कानले उडाइदिनुहुन्छ। कमा पनि फेरिन्न। फुलस्टप पनि फेरिन्न।’
पञ्चायतकालकै प्रकृतिमा बहुदलीय समयमा पनि त्यस्तै प्रक्रियाबाट बजेट निर्माण हुँदै आएको सुनाए। उनले भने, ‘बहुदलीय व्यवस्थामा जसरी बजेट निर्माण गर्थ्यौं। गणतन्त्र आइसकेपछि पनि ठ्याक्कै त्यस्तै गरियो।’ बजेट निर्माणमा पार्टीले बोक्ने विचार धारा र घोषणा पत्रबारे कहिल्यै छलफल नभएको उनले बताए।
स्थानीय पूर्वाधार विकास साझेदारी नामको कार्यक्रमले बजेट निर्माणको क्रम झनै बिग्रिएको उनले सुुनाए। उनले भने, ‘वडा अध्यक्षले जस्तै पैसा लिन थाल्यौं। हाम्रो हैसियत वडा अध्यक्षको जस्तो भएको छ।’
उनले रोग र भोकले मर्न लागेका नागरिकका विषयमा अर्थमन्त्रीलाई सुनाएपनि सुनुवाई नभएको दुखेसो पोखे। उनले भने, ‘हामीले कुरा गरेको भुईंमान्छेको हो। अर्थमन्त्री अग्लो हुनुहुन्छ। अग्लो मान्छेलाई भुईंतिर हेर्न गाह्रो हुन्छ। त्यही भएर नदेखिएको हो।’
सरकारले विगतमा गरेका स्वास्थ्यका वाचा पुरा नगरेको उनले सरकारलाई जानकारी गराए। सरकारले किनेको पाँच पिसिआर मेसिन बिग्रेर नचलेको बताए। स्वास्थ्य राज्यको जिम्मा भनिसकेपछि पनि स्वास्थ्य बीमाको अवधारणागत भ्रम रहेको उनले बताए। उनले भने, ‘सामजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बिमा एउटै होइन। सबैको अनिवार्य बिमा हुनैपर्छ। यो कानुनले भन्छ।’
बिमा रकम आयस्रोतका आधारमा तोकिने समेत उनले बताए। संसदमा उपस्थिति स्वास्थ्यमन्त्रीलाई उनले बिमाको अवधारणा प्रष्ट्याउँदै भने, ‘सबैको प्रिमियम तोकिन्छ। तिर्न नसक्नेको सरकारले तिरिदिन्छ। तिर्न सक्नले आफ्नो आम्दानीको आधारमा तिर्नुपर्छ।’ वर्षको ३५ सय तिरेर १० लाखसम्मको उपचार प्राप्त गर्ने प्रक्रिया सामाजिक सुरक्षा कार्यक्रम भएको उनले प्रष्ट्याए। संसदले पारित गरेको ऐनलाई स्वास्थ्य मन्त्रालयले नबुझेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।