काठमाडौं- नेपालीका गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूलाई स्वदेश फिर्तीलाई सहज गराउन उडान खुल्ला गर्न राजदूतहरूले आग्रह गरेका छन्।
शुक्रबार श्रम, रोजगार पत्रकार समूहले आयोजना गरेको भिडियो बैठकमार्फत मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, कतारका लागि नेपाली राजदूत नारदणनाथ भाराद्वज र साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले सरकारलाई उडान खुल्ला गर्न आग्रह गरेका हुन्।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले चार्टर जहाजमार्फत श्रमिकहरूको भाडा बढी लाग्ने हुँदा व्यवसायिक उडानहरू खुल्ला गरिदिन आग्रह गरे।
मलेसियाबाट तत्काल स्वदेश फर्कनका लागि शुक्रबारसम्म ६ हजार ३ सय ४३ जनाले आवेदन दिएका छन्। जसमा पनि गर्भवती, बिरामी, भिसा अवधि सकिएका तथा रोजगारी गुमाएकाहरू बढी छन्।
कतिपय श्रमिकहरूको हवाई शुल्क कम्पनीले बेहोरिदिने भए पनि कतिपय आफैंले बेहोर्नुपर्ने अवस्था रहेको राजदूत पाण्डेले बताए।
राजदूत पाण्डे भन्छन्, ‘कतिपय श्रमिकहरूले लकडाउन अवधिभन्दा अगावै टिकट लिइसकेको अवस्था छ। अब त्यो टिकटमा अहिलेको अवस्थामा बढेको भाडा थप्नुपर्ने देखिएको छ।’
यस्तो अवस्थामा व्यवसायिक उडानहरू खुल्ला गरिदिए आफैं टिकट काटेर आउन सक्ने अवस्थाका आफैं सहज रुपमा आउने र कम्पनीले पनि सहयोग गरिदिने राजदूत पाण्डेको भनाइ छ।
राजदूत पाण्डेको भनाइसँग कतारका लागि नेपाली राजदूत नारायणनाथ भारद्वज पनि सहमत छन्। कतारबाट तत्काल स्वदेश फर्कनुपर्ने अवस्थाका ७ हजार नेपालीले आवेदन दिएका छन्। स्वदेश फर्कन आवेदन दिनेको संख्या दिनानुदिन बढ्दै गएको छ। तर कतारबाट नेपालीहरू कसरी फर्काउने कहिलेदेखि फर्काउने विषयमा सरकारले टुंगो नदिएको राजदूत भारद्वज बताउँछन्।
‘सरकारले चार्टर फ्लाइटबाट यहाँका नेपाली लैजाने भनेर वर्कआउट गर्न निर्देशन दिएको छ। हामीले सोहीअनुसार वर्कआउट गरिरहेका छौं’ राजदूत भारद्वज भन्छन्, ‘कतिपय कम्पनीहरूले चार्टर विमानकाके टिकट महंगो पर्ने भएकाले समस्यामा परेकाहरूलाई पनि सामान्य अवस्थामा स्वदेश फर्कने भएमात्रै टिकट काटिदिने कुरा गरिरहेका छन्।’
चार्टरमार्फत टिकट काट्न कम्पनीले आनाकानी गर्दा व्यक्ति स्वयंले टिकट शुल्क व्यहोर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। जसले गर्दा सरकारले उडान खुल्ला गर्न आवश्यक रहेको उनी बताउँछन्।
साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले यो समस्या सबै गन्तव्य मुलुकका नेपालीहरूका लागि साझा समस्या भएको बताए।
राजदूत सिंह भन्छन्, ‘अहिले सरकारले नेपालीहरूको उद्धार गर्ने भनिरहेको छ। तर श्रमिकहरू आफैंले पैसा तिरेर जानुपर्ने हो भने त्यसलाई कसरी उद्धार भन्न मिल्छ? स्वदेश फिर्ती भनौं भन्ने कुरा उठिरहेको छ।’
सरकारले उडान बन्द गरेर चार्टरमार्फत नेपालीहरू स्वदेश फिर्ती गर्दा जहाज भाडा महंगो पर्ने देखिएको उनको भनाइ छ।
साउदीमा पनि धेरैजसोले लकडाउन अवधिभन्दा अगाडि नै टिकट लिएको अवस्था रहेको र त्यो टिकटमार्फत रकम थप गरेर श्रमिकहरू स्वदेश फर्कनुपर्ने जटिल अवस्था सिर्जना भएको राजदूत सिंहले बताए।
उडान यो समयमा गर्ने शुल्क यति लाग्ने भनेर सरकारले निर्णय गर्न आवश्यक रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।