काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट लाग्ने कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि गरिरहेको बन्दाबन्दीका बावजूद गत एक महिनामा उद्योग विभागबाट ९२ करोड ७० लाख रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बिभिन्न ११ वटा उद्योगमा विदेशी लगानी भित्रिएको हो।
यही अवधिमा ४ वटा नयाँ उद्योगमा समेत गरी १ अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भएको मन्त्रालयले जनाएको छ। यसरी समग्रमा लकडाउन अवधिमा विभागमार्फत २ अर्ब ७४ करोड ९० लाख लगानी स्वीकृत भएको छ।
विदेशी लगानी सबैभन्दा बढी चीनबाट विभिन्न ७ वटा उद्योगमा ७२ करोड ७० लाख रुपैयाँ बराबर भित्रिएको छ भने भारत, दक्षिण कोरिया नेदरल्याण्ड र मलेशियाबाट समान ५/५ करोड भित्रिएको छ।
यसैगरी मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६, को दफा २० मा व्यवस्था भएको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको काममा सहयोग गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूको संयोजकत्वमा उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरेको छ। यसमा उद्योग तथा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू एवं सम्बन्धित क्षेत्रका विज्ञहरू रहने मन्त्रालयले जनाएको छ।
मञ्चलाई प्रचलित कानुनद्वारा बोर्डलाई तोकिएका कार्यहरूको अतिरिक्त छिमेकी मुलुकहरूको उद्योग तथा लगानीसम्बन्धी व्यवस्थाको अध्ययन गरी सिफारिस गर्ने, उद्योग तथा लगानी प्रवर्द्धनमा देखिएका क्षेत्रगत, प्रकृयागत, प्रविधिगत सुधारका विषय, उद्योग र लगानी प्रवर्द्धनका लागि अर्थतन्त्रमा गर्नुपर्ने सुधारका विषयमा सुझाव दिइनेछ।
त्यस्तै रोजगारी अभिवृद्धि, उद्योग तथा लगानीको वातावरणीय पक्ष, प्रदेश तथा स्थानीय तहका उद्योग एवं लगानी सम्बन्धी विषयहरूमा बोर्डलाई आवश्यक परामर्श तथा सुझाव दिन पनि कार्यादेश तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।