काठमाडौं- नेपाल रेडक्रस सोसाइटीले सरकारले लागू गरेको लकडाउन उल्लंघन हुने गरी केन्द्रीय समितिको बैठक बोलाएपछि प्रशासनले रोकिदिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरीय प्रहरी परिसर टेकुलाई पत्र लेखी सोमबार गर्न लागिएको बैठक रोक्न निर्देशन दिएको छ। मन्त्रिपरिषदको निर्णय बमोजिम भेला, सम्मेलन, अधिवेशन र बैठक गर्न नपाउने प्रशासनले जनाएको छ।
रेडक्रसको जेठ २६ का लागि बोलाइएको बैठक सरकारको निर्णय विरुद्ध हुने भएकाले रोक्न निर्देशन दिइएको छ।
यसैबीच, काठमाडौं महानगरपालिका-१३ का वडा अध्यक्ष ध्रुवनारायण मानन्धरले लकडाउन अवधिभर वडा क्षेत्रमा बैठक नगर्न रेडक्रसको केन्द्रीय कार्यालयलाई पत्राचार गरेका छन्।
कोरोना संक्रमण फैलन सक्ने सम्भावना रहेकाले सोसाइटीले गर्न लागेको समूहगत भेला रोक्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।